विगत २ दिनदेखि परेको वर्षाका कारण विराटनगरको जनजीवन अस्तव्यस्त भएको छ। प्रारम्भिक जानकारी अनुसार विराटनगर वरिपरि मात्र करिब १ हजार पाँच सयभन्दा बढि घर डुबानमा परेको छ। घर भित्र पानी पस्दा करौडौको खाद्यान्न नस्ट भएको छ। चौपायाको अवस्था यकिन गर्न गाह्रो परेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर विमानस्थल, बसपार्क, क्षेत्रीय अस्पताल, नोवेल मेडिकल कलेजलगायत विराटनगर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ११, १२ स्थित ६ सय घर पूर्णरुपमा डुबानमा परेका छन्।
घर डुबानमा परेका परिवारहरु छिमेकको घरमा शरण लिन बाध्य बनेका छन्। विराटनगरको कोशी राजमार्गस्थित मुनालपथ, भुकुटी चौकमा डुवान हुँदा सवारी अवागमनमा समस्या भएको छ। विराटनगरको पश्मिमा पर्ने केशलीया र पूर्वमा रहेको सिघिंया खोलाले कटान बढाएपछि स्थानीयहरु त्रसित छन्।
यस्तै, विराटनगर–४ स्थित आयल निगमको क्षेत्रीय कार्यालयको कम्पाउन्ड पर्खालले भत्किएको छ। महानगरपालिकामा रहेका प्रायः सबै बस्ती र मुख्य राजमार्ग डुबानमा परेको छ। महानगरपालिकामा निमार्णधिन अवस्थामा रहेका सडक र ढल–नालाका कारण नगरका विभिन्न वस्तीहरुको घरघरमा पानी पसेको छ।
ढल–नाला निमार्णका लागि ठूलो ठूलो खाल्डो खनेर त्यत्तिकै छाडिएकाले पानी जमेर थप खतरा बढेको छ। पानीको निकास स्वभाविकरुपमा हुन नपाउँदा मुख्य राजमार्गलगायत बजार क्षेत्र डुबानमा परेको हो।
ढलको यथोचित व्यवस्थापनको अभावमा बजार क्षेत्रका धेरै स्थान जलमग्न छन्। अधिकाश भित्री सडक जलमग्न छ।
मोरङका प्रहरी प्रमुख अरुण बिसीले शुक्रबार साँझवाट परेको पानी शनिवार रातीसम्म नरोकिँदा विराटनगर क्षेत्र जलमग्न भएको जानकारी दिए। ‘विराटनगरका कतिपय ठाउँ उच्च जोखिममा छन्। हामी उद्धारका लागि तयारी अवस्थामा बसेका छौं,’ उनले भने।
विराटनगर विमानस्थल, सुरक्षा गार्ड, ब्यारेक भवन र कार्यालयमा पानी पसेर डुबानमा परेको छ। धावनमार्ग र बिमानस्थल परिसर पुरै जलग्न अवस्थामा छ। बिमानस्थलको यात्रु कक्षमा समेत पानी पसेर जलग्न भएपछि एयरलायन्सका काउन्टरमा समेत क्षति पुगेको छ। अवस्था केही सामान्य हुन एक साता लाग्ने बताइएको छ।
विमानस्थल वरिपरि रहेको नेपाल प्रहरी र नेपाली सेनाको व्यारेक मात्र नभएर हवाई ईन्धनका लागि राखिएको आयाल निगमको डिपो समेत डुवानमा परेको छ। बाढीले गर्दा बिमानस्थलमा करोडौको क्षति पुगेको आंकलन गरिएको छ।