बिगत ४ दिनदेखि परेको अविरल वर्षाका कारण पूर्व-पश्चिम महेन्द्र राजमार्गको अधिकांश सडकमा करिब ३ फिट भन्दा बढी पानी जमेका कारण यतायात पूर्ण रुपमा बन्द गरिएको छ।
महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरी सडकखण्डका अधिकांश पुल बाढीले क्षती पुर्याएपछि सडक अवरूद्ध भएको छ।
पूर्व-पश्चिम राजमार्गको लक्ष्मीनियाँ ५ स्थित लक्ष्मीनिया पुल बाढीले बगाएको छ। यस्तै बर्दिबासको जनाहापुल बाढीले भासिएको छ। रातु पुलमा आवागनम ठप्प छ।
बिपी राजमार्गको बर्दिबास ३ पाटु भन्नेठाउँमा पहिरो जाँदा ४ वटा घरमा क्षति पुगेको छ। पहिरोले विपी राजमार्ग पुरै अवरुद्ध भएको छ। यस्तै रातु नदीले वरिपरिबाट घेरेपछि ५ घर परिवार राहत र उद्धारको पर्खाइमा छन्।
जलेश्वर पुरै डुबानमा परेको छ। करिब २ दर्जन सरकारी कार्यालय डुबेका छन्। यस्तै २०० भन्दा बढी घरबाट बाढी कुदेको छ। उद्धार कार्य जारी छ।
यस्तै लालबकैया नदीमा आएको बाढीको पानी निजगढस्थित रोडमा तीन फिट भन्दा बढी पानी बगिरहेका कारण पूर्व तथा पश्चिमबाट आएका सयौ गाडीहरु राकिएको बाराका प्रहरी नायब उपरीक्षक दिलिप धिमिरेले बताए।
जिल्ला स्थित रहेका जमुनी, तियर, पसाहा, थल्ही, बंगरी, दुधौरा र धन्सार खोलामा आएको बाढीका कारण निजगढ, महागढी, कोल्हवी, सिम्रौनगढ र जीतपुरसिमरा तथा कलैया उपमहानगरपालिका लगायतका अधिकांश गाँउपालिकाका वडाहरु खोलाको पानीले क्षती पुगाएका छन्।
त्यसैगरी त्रिभुवन राजमार्ग अन्र्तगत चुरियामाई अगाडिको सडकमा पहिरो गएको कारण पनि हेटौडाबाट वीरगंज र पूर्व तर्फ जाने सबै गाडीहरु बिच बाटोमै रोकिएको बारा प्रहरीले जनाएको छ।
यसैगरी निजगढ नगरपालिकाको रतनपुरीका सयौ स्थानियहरुलाई बस्ती छोडाएर सुरक्षित स्थान रहेका सोही ठाँउका बिद्यालयमा राखिएको प्रमुख जिल्ला अधिकारी बिजयनारायण मान्धरले जानकारी दिए।