अविरल वर्षाका कारण सुनसरीस्थित कोसी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ३५ वटा ढोका खोलिएको छ।
पानीको बहाव बढिरहे समस्या हुने भएकाले नेपालले भारतसमक्ष ब्यारेजका थप ढोका खोल्न अनुरोध गरेपछि ५६ मध्ये ३५ वटा ढोका खोलिएको सुनसरीका एसपी विद्यानन्द माझीले जानकारी दिए।
परराष्ट्र मन्त्री कृष्णबहादुर महराले भारतीय राजदूतमार्फत ब्यारेजका ढोका खोल्न भारतसित आग्रह गरेका थिए। सुनसरीको लौकही, महेन्द्रनगर, चतरा र भण्टाबारी कोसीको सबैभन्दा जोखिमपूर्ण र प्रभावित क्षेत्र मानिन्छ ।
पश्चिमको राप्ती नदीमा नेपाल-भारत सीमाभन्दा केही तल भारतले बनाएको लक्ष्मणपुर बाँधका सबै ढोका खोलिदिन पनि सरकारले आग्रह गरेको छ। उक्त बाँधमा १४ वटा ढोका छन् । त्यसमध्ये ७ ढोका खोलिएका छन्।
बाँध पूरै खोल्न आइतबार फेरि भारतसँग आग्रह गरिने परराष्ट्र स्रोतले जनाएको छ। राप्ती नदीको जलाधर क्षेत्रमा शुक्रबारदेखि ठूलो वर्षा भइरहेको छ। वर्षाले राप्ती र त्यस क्षेत्रका अन्य नदीमा पानीको बहाव वढ्दा पश्चिमी क्षेत्रमा डुवानमा परेको छ। लक्ष्मणपुर बाँधका ढोका बन्द राख्दा सीमाबारी नेपालमा वर्षायाममा ठूलो डुवान हुने गरेको छ ।