अविरल वर्षाका कारण रातो नदीमा पानीको बहाव उच्च भएपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषा जोड्ने रातो पुल भासिने जोखिम बढेको छ। पुल भासिने जोखिम बढेपछि पुलमा भारी सवारी साधनको आवागमन बन्द गरिएको छ।
हलुका सवारी मात्र जान दिइएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक शालीग्राम शर्माले बताए। उनका अनुसार पुल ४ इन्च भन्दा धेरै भासिएको छ। आईतबार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्ने उनले बताए।
४३ वर्षअघि बनेको पुलको क्षमता १० दशमलब २ मेट्रिक टन मात्र छ। तर दोब्बर भारका १६ चक्के र १८ चक्के मालबाहक ट्रकलाई समेत आवतजावतको अनुमति दिएकाले जोखिम बढेको हो। पुलबाट साना गाडी, यात्रु बस र ६ चक्केसम्मका सवारीलाई मात्र प्रहरीले अनुमति दिएको छ।
तीन वर्ष पहिले साउन २९ गते बाढीले सो पुल भासिएको थियो। पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो रहेको छ।