ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ।
प्रविणका बाबु प्रमोदले ललितपुर प्रहरी परिसरमा दिएको उजुरीमा 'घरमै बसिरहेका बेला सादा पोसाकका प्रहरीले हत्या गरेको' आरोप लगाउँदै घटना छानबिन गर्न माग गरिएको छ।
सोमबारको उक्त घटनामा प्रविणसँग दुईवटा पेस्तोल फेला परेको प्रहरीको दाबी छ। उनका बाबुले भने प्रहरी दाबी झूटो भएको बताएका छन्। घटना बेला प्रविणसँग हतियार नभएको र उनलाई प्रहरीले नै कन्चटमा गोली हानी मारेको उजुरीमा उल्लेख छ।
प्रहरीले भने प्रविणसँग हतियार भएकोबारे उनकी श्रीमतीलाई समेत थाहा भएको बताएको छ। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले उनीसँग हतियार भएको र घरमा छापा मार्ने क्रममा प्रहरीमाथि नै गोली चलाउँदै भागेको दाबी गरेका छन्।
'उनले गोली चलाएपछि हाम्रा प्रहरीले पनि एक राउन्ड हवाइ फायर गरे,' उनले भने, 'प्रहरीले हवाइ फायर गर्नासाथ प्रविणले दुवै हातमा बन्दुक लिएर दुईतिरबाट आफ्नै कन्चटमा गोली हाने।'
उनी लागुऔषधका दुर्व्यसनी र हतियार कारोबारी भएको प्रहरी दाबी छ।
यो घटनामा प्रहरीमाथि शंका नगर्न आग्रह गर्दै एसएसपी अमात्यले भने, 'एक-दुई दिनभित्र पोस्टमार्टम रिपोर्ट आउँछ, त्यसपछि दूधको दूध, पानीको पानी भइहाल्छ।'
प्रहरीले प्रविणको शव पोस्टमार्टमका लागि पाटन अस्पतालबाट टिचिङ अस्पताल महाराजगन्ज पठाएको छ। पोस्टमार्टमबाट शरीरमा के के चोट लाग्यो, कहाँ कहाँ लाग्यो र कस्तो प्रकारले लाग्यो भन्ने सबै पत्ता लाग्ने अमात्यले बताए।
'प्रविणको मृत्यु प्रहरीको गोलीबाट भयो कि उनीसँगै बरामद भएको पेस्तोलबाट निस्किएको गोलीले भन्ने पोस्टमार्टम रिपोर्टबाट थाहा भइहाल्छ,' उनले भने।
उनका अनुसार पोस्टमार्टम रिपोर्टमा टाढाबाट गोली हानिएको हो कि नजिकबाट भन्ने प्रस्ट हुन्छ। गोली लागेको ठाउँको घाउ जाँचेर यो खुट्टयाउन सकिने टिचिङ अस्पताल, फोरेन्सिक ल्याबका एक कर्मचारीले बताए।
आफन्तले भने उनको शरीरका अन्य भागमा चोटपटक नभएको र दायाँ कन्चनबाट गोली भित्र पसेको बताएका छन्।
प्रहरीका अनुसार ३२ वर्षीय प्रविणलाई लागुऔषध दुर्व्यसनबाट छुटाउन पटक-पटक पुनर्स्थापना केन्द्रमा राखिएको थियो। लामो समय घरमै राखेर निगरानी गर्दा उनले तलतल सहन नसकेर धाराको टुटीसमेत खाएको प्रहरीले जनाएको छ। पछि अप्रेसन गरेर उक्त टुटी निकालिएको थियो।
प्रहरीले केही दिनअघि एक लागुऔषध दुर्व्यसनीलाई पक्राउ गरेको थियो। उनैले दिएको सुराकीका आधारमा छापा मार्न प्रविणको घर पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।