नयाँ सडक बनाउँदा माटो झिकेको खाडलमा डुबेर चार जनाको मृत्यु भएको विषयमा छानबिन गर्न बनेको टोली मंगलबार रौतहट आइपुगेको छ।
गृह मन्त्रालयका सहसचिव दीपक काफ्लेको संयोकत्वमा बनेको टोलीले मंगलबार दिउँसो गरुडास्थित घटनास्थल अवलोकन गरेको छ।
टोलीमा पुर्वाञ्चल क्षेत्रीय सडक डिभिजन कार्यालयका प्रमुख मुक्ति गौतम, नेपाल प्रहरीका डिआइजी पुष्प रञ्जीत सहभागी छन्।
टोलीसँगै राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय कार्यालय जनकपुरको टोलीले पनि घटनाको अध्ययन गरिरहेको छ।
सहसचिव दिपक काफ्लेले स्थानीय प्रशासन र स्थानीयबासीको प्रतिक्रियाको आधारमा प्रतिवेदन तयार पारिने बताए।
गत शनिबार दिउँसो गरुडा नगरपालिका–४ का राम एकवाल साहका १२ वर्षीया छोरी सुनिता साह र ९ वर्षीया संगीता साह, योगेन्द्र साहका छोरी ९ वर्षीया सुनैना साह, प्रेमनारायण साहको ९ वर्षीया छोरी सुस्मिता साहको सडक किनारको खाडलमा डुबेर मृत्यु भएको थियो।
बालिकाहरुको मृत्यु भएपछि स्थानीयबासीले दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको माग गर्दै सडकमा शव राखेर आन्दोलन गरेका थिए।
सडक बनाउन खनेको खाडलमा डुबेर बालिकाहरुको ज्यान गएको भन्दै संंसदमा समेत आवाज उठेपछि सरकारले घटनाको छानबिन गर्न टोली गठन गरेको थियो।