जिल्ला कारागार रुपन्देहीमा क्षमता भन्दा झण्डै चारगुणा बढी कैदीबन्दी राखिएको छ। एक सय जनाको क्षमता भएको कारागारमा ३ सय ८२ जना कैदीबन्दी राखिएको छ।
पुराना भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या देखिएको छ । त्यस्तै कारागारमा महिला थुनुवा कक्ष समेत छैन । महिला थुनुवा कक्ष्ँ नहुंदा प्रशासनले अन्य जिल्लाहरुमा पठाउने गरेको जिल्ला कारागार कार्यालय रुपन्देहीका नायब सुब्बा प्रेम रोकाले बताए।
वि.सं. १९९० सालमा स्थापना भएको यो कारागार जिल्लाको एकमात्रै कारागार होे । यहाँ अहिले १ सय ३१ जना कैदीबन्दी र विभिन्न अपराधमा मुद्धा चलेका तर अदालतबाट मुद्धा फैसला नभएका २ सय ५१ जना थुनुवा रहेका छन्।
यी मध्ये लागूऔषध, डाँकाचोरी, जवरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसारमा दोषी ठहर भई कैद फैसला भएका १३ जना विदेशी रहेका छन् । उनीहरु सबै भारतीय भएको नायब सुब्बा रोकाले बताए।
१८ जनाको दरबन्दी भएको कार्यालयमा कर्मचारी बस्ने भवन समेत राम्रो छैन । कैदीबन्दी राख्ने भवन त अत्यन्त जिर्ण बन्दै गएको छ । कारागार वरिपरी पर्खाल समेत छैन । जसले सुरक्षामा समेत चुनौती थपिएको छ । थोरै क्षमता भएको ठाउंमा प्रशासनले जवरजस्ती धेरै संख्यामा कैदीबन्दी राख्दा बस्न समेत निकै समस्या भएको कैदीबन्दीहरुले गुनासो गरेका छन् ।