ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। अविरल बर्षापछि बिहीबार राति खसेको पहिरोले पुरिदा ढोरपाटनको अधिकारी चौर पाखापानीमा ५४ वर्षीय ओमप्रकाश बिक र निसीखोला गाउँपालिका वडा नम्बर १ हुल्दीका एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।
अधिकारी चौरमा घरमाथिबाट आएको पहिरोमा बिकसहित पाँच जनाको परिवार परेको थियो। बिकका तीन छोरी र श्रीमतीलाई स्थानीयले उद्धार गरे पनि बिकलाई भने बचाउन नसकिएको स्थानीयले बताएका छन्।
यस्तै, निसीखोला गाउँपालिका वडा नं. २ देविस्थानको बाहुनगाउँका मनिराम छन्त्यालको घर पहिरोले पुरिदा चारजना बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भिवाकोखोला बोहोरागाउँका सही रिण बहादुर पैदवारले जानकारी दिए। ६८ बर्षीय मनिराम पनि मृत अवस्थामा भेटिएका छन्।
बेपत्ता हुनेमा मनिरामकी श्रीमती ६३ बर्षिय नन्दकली छन्त्याल, २२ बर्षिय बुहारी बिन्दु छन्त्याल, १८ बर्षीय छोरी गीता छन्त्याल रहेको प्रहरीले जनाएको छ। उद्धार टोलीमा खटिएका प्रहरीका अनुसार बेपत्ता नन्दकली र बुहारी विष्णुको शरिरको केही भाग देखिएको र उद्धारका लागि खटिरहेको बताईएको छ। पहिरो आज बिहान साँढे पाँचमा गएको र सबै घर नै बगाएको स्थानीय बताउँछन्।
स्थानीय र करिब ५० जना प्रहरीको टोलीले उद्धारका लागि खटिएको पैदवारले बताए।
पहिरो माथिबाट खस्दै गरेकोले उद्धारमा केही कठिनाइ भएको प्रहरीले जनाएको छ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण निसीखोला र ढोरपाटन क्षेत्रका ठाउँ ठाउँमा पहिरो खसेको हो।
त्यस्तै, सोही ठाँउका छविलाल छन्त्यालको घर बगाएको छ। शुक्रबार बिहान देविस्थानका गोगलाल मल्लको घर पनि खोलाले बगाएको छ। देविस्थान स्वास्थ्यचौकी सहित अन्य घर थुप्रै घर बाढी पहिरोको उच्च जोखिममा परेको देविस्थान स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट मुक्ति लोहोनीले बताए।