दाङको तुलसीपुर बजारमा अटेरी गर्दे फोहर जथाभावी फाल्नेहरुलाई कारबाही गर्दा डेढ लाखभन्दा बढी आर्थिक संकलन भएको छ । तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जारी ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ अभियान अन्तरगत अभियानलाई अटेरी गर्दै जथाभावी फोहर गर्नेहरुलाई कारबाही गर्दा उक्त रकम संकलन भएको हो ।
अभियानका संयोजक विमल रिजालले एक सय ५० जनालाई कारबाही गर्दा डेढ लाखभन्दा रुपैयाँ राजस्व संकलन भएको र उक्त रकम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको बताए । आफ्नो घर अगाडि जथाभावी फोहर गर्ने, फोहर व्यवस्थापनमा कुनै चासो नदिने र अटेरी गर्नेहरुलाई आर्थिक जरिवाना गरिएको संयोजक रिजालले बताए । जारी अभियान अन्तरगत ५०औं हप्तासम्म आइपुग्दा पाँचसय जतिलाई सचेत तुल्याइएको उनले जानकारी दिए ।
यसैबीच ५१औं हप्ताको सरसफाइ अभियानमा सरसफाइ अभियानका अभियान्ता एवं हास्यव्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुस लगायतका कलाकारहरु आउने जानकारी दिइएको छ ।