भारतको एपोलो अस्पतालमा दुई महिलाको स्वाईन फ्लूको कारण मृत्यु भएको घटना तथ्य परक नभएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वाईन फ्लुकै कारण मृत्यु भएको भनिएका डेथवर्डीको सवै कागजी प्रमाण नहुँदा स्वाईन फ्लु नहुनसक्ने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कुलबहादुर पौडेलले सेतोपाटीलाई बताए । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले स्वाईनफ्लुको संक्रमण भएको भनिएका परिवारसँग एपोलो अस्पतालले उपचारका क्रममा गरेको स्वास्थ्य परीक्षणको कागजी प्रमाण माग्दा आफूहरूसँग नभएको बताएपछि यसमा सत्यता नभएको हुनसक्ने कार्यालयले दाबी गरेको छ।
यद्यपि, बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको स्वाईन फ्लुकै कारण मृत्यु भएको एपोलो अस्पतालले डेथवर्डी रिपोर्टमा पुष्टी गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय झापाले स्वाईनफ्लुकै कारण मृत्यु भएकाको उपचारका क्रममा परीक्षण गरिएका अधिकतम कागजी प्रमाण संकलन गर्ने र सो प्रमाणलाई काठमाडौंको रोग नियन्त्रण माहाशाखामा पठाएपछि मात्र प्राप्त रिपोर्टका आधारमा रोग पुष्टि हुने बताएको छ।
बिर्तामोड–४ की अनितादेवी मित्तल र बिर्तामोड–१ की मनिषा अग्रवालको स्वाईन फ्लुका कारण मृत्यु भएको समचार संचार माध्यममा सार्वजनिक भएपछि झापामा सर्वसाधरणमा त्रास फैलिएको छ ।
घटनाक्रम अनुसार, अनितालाई श्वासप्रश्वासमा सामान्य समस्या र खोकी आउन थालेपछि उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदिता नर्सिङ होममा भर्ना गरिएको थियो। उनका श्रीमान् राजु मित्तलका अनुसार सात दिनसम्म अस्पतालमा राखेर उपचार गरे पनि बिरामी झन् सिथिल बन्दै गएपछि थप उपचारका लागि एयर एम्बुलेन्समार्फत अनितालाई दिल्लीस्थित एपोलो हस्पिटल पुर्याइएको थियो।
अस्पताल पुर्याएलगत्तै अनितालाई चिकित्सकले स्वाइनफ्लु भएको आशंका गरेका थिए। उक्त अस्पतालका डा एमएस कनवर तथा डा अन्सारी सहितको १८ जनाको टोली अनिताको उपचारमा संलग्न थिए। तर, अस्पताल पुर्याएको ७२ घण्टा बित्न नपाउँदै साउन १ गते उनको मृत्यु भएको राजुले जानकारी दिए।
सोही प्रकृतिको रोगको देखा परेपछि विर्तामोड ४ कि मनिषा अग्रवाल पनि उपचारका लागि एपोलो अस्पताल गएकि थिईन्। उनको पनि साउन १५ गते राति निधन भएको परिवारले बताएको छ। अग्रवालको शव विहिवार मात्र नेपाल ल्याईने भएकाले त्यसको प्रमाण हेर्न बाँकी रहेको जिल्ला जन स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वाइन फ्लुका बिरामीलाई लगातार नाकबाट पानी बगिरहने हाछ्युँ आउने, शरीरमा कमजोरी, आलस्यता, खोकी आउनु , घाँटी चिलाउनु, दुख्नु, लगायतका लक्षण देखा पर्ने मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड डा.पिताम्वर ठाकुरले बताए। स्वाइनफ्लु रोग सुँगुर या हाँस बाट मानिसमा सर्न सक्छ ।
यसैविच जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बुधबार एक कार्यलद गठन गरि मित्तल र अग्रवालको घर गाउँको स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा टोलीले मित्तलको घर छेउमा बंगुरको खोर र पानी जमेको खाडल भएको बताएको छ।
स्वाईनफ्लु बंगुरबाट मानिसमा सर्ने भएकाले आशंका गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिहीबारै डा. दुर्योधन यादवको संयोजकत्वमा ४ सदस्यीय अनुगमनसहित र प्रमाण संकलन समिति गठन गरेको छ । सो समितिमा जनस्वास्थ्य अधिकृत रामकुमार यादव, जनस्वास्थ्य निरीक्षक लक्ष्मण प्रसाद साहा र कुलवहादुर पौडेल नियुक्ति भएको कार्यालयले जनाएको छ ।