अबदेखि यात्रुबाहक सवारी साधनले तुलसीपुर बजारको निश्चित चार स्थानबाट मात्रै यात्रुहरू चढाउन र अोराल्न पाउने भएका छन् । सार्वजनिक यातायातमा सुधारको प्रयास स्वरुप तुलसीपुर उपमहानगरपालिकाले बुधबारदेखि नै लागू हुने गरी निश्चित स्थानबाट मात्रै यात्रु चढाउन र झार्न पाउने नियम लागू गरेको हो । मंगलबार यातायात व्यवसायीहरूसँगको छलफलपछि तुलसीपुर उपमहानगपालिकाले त्यस्तो नियम लागू गरिएको जानकारी दिएको हो ।
उपमहानगपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले तुलसीपुरको सार्वजनिक यातायात व्यवस्था प्रणालीलाई व्यवस्थित गर्ने उद्धेश्यले बजारको निश्चित क्षेत्रबाट मात्रै यात्रु चढाउने र झार्न पाउने नियम बनाएको हो । बैठकले तुलसीपुर बजार क्षेत्रमा दक्षिणमा बाहिनी चोक, उत्तरमा तुलसीपुर खानेपानीको कार्यालय, पूर्वमा विद्युत अफिस र पश्चिममा बसपार्कबाट मात्रै यात्रु चढाउने र झार्न पाउने निर्णय गरेको छ ।
निर्धारित स्थानबाहेक अन्य स्थानबाट यात्रु चढाउन वा झार्नेहरु माथि कारबाही गरिने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै बैठकले यात्रुलाई सम्मानजनक व्यवहार गर्न मजदूरलाई अभिप्रेरित गर्ने, यात्रुहरुलाई निश्चित स्थानबाट मात्रै चढाउने र आराल्ने निर्णय गरेको हो ।
काउण्टरको व्यवस्था गर्न कार्यदलबैठकले बसपार्कमा काउण्टर नभएका यातायात व्यवसायी समितिलाई काउण्टरको व्यवस्थापन गर्न उपमहानगरका ईञ्जिनियर पवनकुमार योगीको संयोजकत्वमा तीन सदस्य कार्यदल समेत गठन गरेको छ । जसमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक देवबहादुर खत्री, वडा नं. ५ का सदस्य अजय वुढाथोकी रहेका छन् ।
पार्किङ स्थल छनोट गर्न चार सदस्य समिति गठनयसैबीच उक्त बैठकमा बजारको अव्यवस्थित सवारी पार्किङलाई व्यवस्थापन गर्नका लागि पार्किङस्थल छनोट र निर्णय कार्यान्वयनका लागि वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहको संयोजकत्वमा चार सदस्य अनुगमन समिति गठन समेत गरिएको छ । जसमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रहरी निरीक्षक प्रकाश चन्द्र गुप्ता, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रतिनिधी, यातायात व्यवस्था कार्यालय राप्तीका प्रतिनिधि र उपमहानगरका नायब सुब्बा खेमकान्त पाण्डे सदस्य रहेका छन्।