दाङको देउती मावि मलैका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बुढामाथि कुटपिट भएको छ ।
बबई गाउँपालिका वडा नं. ७ निवासी अमर बुढाले मंगलबार एक विज्ञप्ति जारी गरि आफूलाई काँग्रेसका स्थानीय कार्यकर्ताले बिनाकारण कुटपिट गरेको उल्लेख गरेका छन् । कामको सिलसिलामा पंचकुुलेस्थित वडा कार्यालय पुगेको समयमा सोमवार दिउँसो स्थानीय काँग्रेसका नेता कार्यकर्ता टिकाराज वली, राजु डाँगी, डम्बरबहादुर डाँगी, राजु डाँगी लगायतका व्यक्तिहरुले कार्यालयको प्राङगणमै कुटपिट गरेको बुढाले विज्ञप्तिमार्फत आरोप लगाएका छन् ।
कुटपिटबाट टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेको तथा कानमा १२ वटा टाँका लगाएको वुढाले बताए । बुढाले कुटपिटमा संलग्नहरुलाई कानूनी कारबाहीको माग गरेका छन् ।
उनले असार १४ को स्थानीय तहको निर्वाचनमा बबई गाउँपालिका वडा नं. ७ मा काँग्रेसका उम्मेदवारी विरुद्ध स्वतन्त्र उम्मेदवार भएर चुनाव लडेका थिए । काँग्रेसबाट वडा नं. ७ का वडा अध्यक्षमा निर्वाचित मोहनलाल डाँगीलाई निर्वाचनका क्रममा अनावश्यक आरोप लगाएर हराउन खोजेको भन्ने आरोप लगाउँदै आफूमाथि कुटपिट भएको बुढाले बताए । उनको तुलसीपुरस्थित सिटी हस्पिटलमा उपचार भइरहेको छ ।