सामूहिक रुपमा करणी गरेको आरोपमा प्रहरीले एकजना अभियुक्तलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी २२ वर्षीय अनुप भन्ने खीमबहादुर पुरी पक्राउ परेको दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए । पुरी लगायत तीन जना युवाको समूहले घोराही १८ अम्बापुरस्थित कटुवा खोला किनारमा लगेर एकजना युवतीलाई ०७२ साल कात्तिक १ गते राति नौं बजेतिर बलात्कार गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । त्यसयता पुरी लगायतका तीनै जना फरार रहँदै आएका थिए । अभियुक्त पुरीलाई तुलसीपुर बजार क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
दाङ देउखुरी जिल्ला अदालतले समेत पुरीलाई दोषी ठहरसहित जेल सजाय सुनाएको थियो । पक्राउ परेका पुरीलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा सोमबार नै पठाइएको प्रहरीले बताएको छ ।
दाङमा एक वर्षमा २ सय ५३ फरार अभियुक्त पक्राउयसैबीच दाङ प्रहरीले आर्थिक वर्ष ०७३/०७४ मा दुईसय ५३ जना फरार अपराधीहरुलाई पक्राउ गर्न सफल भएको दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिएका छन् । फरार अपराधी पक्राउ गरी उनीहरुलाई एक सय ६ वर्ष २७ दिन कैद र २४ लाख ३४ हजार ८ सय ५६ रुपैयाँ असुल उपर गर्नका लागि अदालतमा पठाइएको जिल्ला प्रहरी प्रमुख सिंहले जानकारी दिए ।