यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले मोटरसाइकल चालकका लागि नयाँ लाइसेन्स वितरण गर्न लिखित परीक्षा सञ्चालनको तयारी गरेको छ । तीव्र दबाबपछि मात्रै आवेदन मागेको नौ महीनापछि बल्ल कार्यालयले मोटरसाइकल चालकका लागि लिखित परीक्षा गराउन प्रक्रिया शुरू गरेको हो ।
त्यसका लागि कार्यालयले सोमबारदेखि नै प्रवेश पत्र वितरणको काम शुरू गरिसकेको विभागका निमित्त कार्यालय प्रमुख याम बुढा मगरले जानकारी दिए । उनले पहिलो चरणमा आवेदक मध्येका एक रोल नम्बरदेखि चार हजार रोल नम्बरसम्मको लिखित परीक्षा हुने जानकारी दिए ।
बुढा मगरका अनुसार साउन २१ गते बिहान दश बजेदेखि बेलुका चार बजेसम्म तुलसीपुरस्थित गोरखा माविमा लिखित परीक्षा सञ्चालन गरिने छ । गत मंसिरमा सर्वसाधरणबाट आवेदन माग गरेपछि साढे १२ हजारले लाइसेन्सका लागि फाराम भरेको निमित्त कार्यालय प्रमुख बुढा मगरले बताए ।
त्यसमध्ये लगभग दश हजार नयाँ , स्कूटर चालक करीब एक हजार पाँच सय र थप्न चाहने आठ सयको हाराहारीमा रहेको निमित्त कार्यालय प्रमुख बुढा मगरले जानकारी दिए । साउन २१ गते नै पहिलो चरणको निर्वाचनले गर्दा स्थगित भएकाहरूको समेत परीक्षा लिइने बुढा मगरले जानकारी दिए ।
निमित्त कार्यालय प्रमुख बुढा मगरले अन्य आवेदकहरुको आवेदन कम्प्यूटरमा धमाधम इन्ट्रि गर्ने कार्य जारी रहेको जानकारी दिए ।
केही दिन पहिले मात्रै यातायात व्यवस्था विभागले परीक्षा सञ्चालनमा गरेको ढिलाइबारे सेतोपाटीमा खबर प्रकाशित भएको थियो । त्यो खबर प्रकाशित भएलगत्तै आफू काठमाडौंमा रहेको र अबको एक हप्ताभित्रै लिखित परीक्षा सञ्चालन गर्ने विभागका प्रमुख अच्यूत दाहालले प्रतिबद्धता जनाएका थिए । दाहालले यसअघि गत माघ महीनामै नयाँ लाइसेन्स लिन चाहनेहरूका लागि आवेदन मागेको जानकारी दिएको भएपनि निमित्त कार्यालय प्रमुख वुढाले भने नौं महीना अर्थात गत मंसिरमै आवेदन मागेको जानकारी दिए ।