पानीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ बाहुन डाँडा निवासी १४ वर्षीया प्रमिला केसीको पाउजु पानीमा खसेपछि खोज्न पानीमा पस्दा डुबेर मृत्यु भएको हो । स्थानीय गंगटे खोलामा पानी भण्डारणका लागि बाँधेको बाँधमा उनको शव फेला परेको प्रहरीले बताएको छ ।
दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहका अनुसार मृतक केसी लगायतका अन्य बालबालिका शनिबार दिउँसो नजिकैको जंगलमा च्याउ खोज्न जाँदै गर्दा बीचमा पर्ने गंगटे खोलामा नुहाउँदै थिए । केसी पनि केहीबेर छेउछाउमा नुहाएर पौडी खेल्न नसक्ने भएपछि निस्किएकी थिईन् । त्यसपछि उनी पोखरीको डिलमै बसेर खुट्टा र पाउजु धुँदै थिईन् । त्यही क्रममा उनको एउटा पाउजु गंगटे खोलाको तलाउमा खस्न पुग्यो । १४ वर्षीया केसीले त्यसैको खोजीमा तत्कालै डुवुल्की मारेकी थिईन् । पौडी खेल्न नजान्ने केसी उक्त पोखरीमा डुबेपछि निस्केर आउन सकिनन् । उनीसँगै गएका उनका साथीहरुले पनि उनको उद्धार गर्न सकेनन् ।
आफूभन्दा कम उमेरका साथीहरू भएकाले उनलाई उद्धार गर्न नसकिएको प्रहरी प्रमुख सिंहले जानकारी दिए । शनिबार बेलुका अबेर मात्रै केसीको शव पोखरीबाट निकालिएको र अहिले पोष्ट मार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखिएको सिंहले जानकारी दिए ।