भाइबहिनीबीच स्नेहको प्रतीकका रूपमा रहेको रक्षाबन्धन र जनै पुर्णिमा पर्व शुक्रबार तराई मधेश र मिथिला लगायत महोतरीमा मनाइएनन्।
परापूर्वकालदेखि साउने पूर्णिमाको दिनमा जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व हुँदै आइरहँदा पनि यो वर्षको पूर्णिमा साउन २३ गते चन्द्रग्रहण लाग्नाले शुभ मुहुर्त नभएको भन्दै नेपाली पञ्चांग निर्णायक समिति काठमाडौंले नागपञ्चमीकै दिन जनै पूर्णिमा मनाउने निर्णय गरेका थिए।
तर, मिथिला क्षेत्र, तराई मधेशका महोत्तरी धनुषा, सिरहा, सप्तरी, रौतहट, पर्सा, बारा, सर्लाहीलगायतका जिल्लामा रक्षाबन्धन साउन २३ गते सोमबारनै मनाउने निर्णय गरेका छन्। सनातनदेखि श्रावण पूर्णिमाको दिन रक्षाबन्धन मनाउँदै आएकोले यस वर्ष पनि सोही अनुसार मनाउन लागेका हुन्।
तर काशी विश्वविद्यालय, दरभंगा विश्वविद्यालय र क्यालिफोर्निया विश्वविद्यालयले जारी गरेको पञ्चांगमा श्रावण पुर्णिमा श्रावण २३ गते को दिन रक्षाबन्धन उल्लेख गरिएको छ। पञ्चांग निर्णायक समितिले गरेको तर्क पनि सत्य र तथ्यपरक नरहेको लक्ष्मी नारायण मठ मटिहानीका मानमहन्थ जग्गरनाथ दास वैष्णवले सेतोपाटीलाई बताए।
समितिले यसअघि दुई पटक नाग पञ्चमीको दिन रक्षा बन्धन मनाएको भनेर दिएको तर्कमा कुनै सत्यता नरहेको उनले दाबी गरे।
तराई मधेशमा बसोबास गर्ने हिन्दु धर्मावलम्वीहरु खास गरी मैथली, विद्यापती, अपराजिता, बैदेही र विश्वविद्यालय पञ्चांगमा स्पष्ट रुपमा रक्षाबन्धन साउन २३ गते नै मनाउने उल्लेख गरिएको नेपाल संस्कृत विश्वविधालय अन्तर्गत यालना विधापीठका प्राध्यापक धुव्र रायले बताए।
उनका अनुसार मिथिला व्यवहारमा सिद्धान्त अनुसार कुनै पनि कर्मकाण्ड सम्बन्धी काम परम्परा एवं शास्त्रीय निर्णय गरिन्छ। ‘२०७४ साल साउन शुल्क पूर्णिमा साउन २३ गते सोमबार पर्दा कसरी पञ्चमिकै दिन रक्षाबन्धन गरिने,’ उनले प्रश्न गरे, ‘खासगरी तराई मधेशमा चलनचल्तिमा रहेका मिथिला एवं विश्वविद्यालय पञ्चांगमा स्पष्ट रुपमा उल्लेख छ साउन २३ गते नै रक्षाबन्धन हुनेछ । तराईबासीहरु मिथिलाको परम्परासँग जोडिएको छ।’
पञ्चांगहरुको आधार मान्ने हो भने रक्षाबन्धन पर्व साउन २३ गते सोमबार मनाउनुपर्ने उनले बताए। ‘मिथिलाञ्चलमा सनातनदेखि पुर्णिमाको दिन रक्षाबन्धन मनाउँदै आएका छौ। यस वर्ष पनि सोही तिथिमा रक्षा बन्धन मनाउनुपर्छ,’ उनले गरे।
पञ्चांगमा २०२८ र २०४७ सालमा पनि श्रावण पुर्णिमाकै दिन रक्षाबन्धन मनाइएको थियो । पञ्चांग निर्णायक समितिले पुर्णिमाको राति चन्द्रग्रहण पर्न गएकोले रक्षाबन्धन मनाउन नहुने कारण दिएको छ। तर, २०२८ र २०४७ मा पनि चन्द्रग्रहण लाग्दा रक्षाबन्धन मनाइएको उनको तर्क छ।
यस वर्ष पनि सोमबार राति ११:०२ बजेदेखि १२:०३ बजेसम्म चन्द्रग्रहण लाग्ने भएकोले रक्षाबन्धन मनाउनमा कुनै कठिनाई नरहेको उनले बताए ।
‘यस वर्ष सोमबार बिहान १०:३६ बजेसम्म रक्षाबन्धन गर्ने साइत रहेको छ। ग्रहण समाप्त भएको दुई घण्टापछि शुभकार्यहरु गर्न सकिन्छ,’ उनले भने।
वामन रुप लिएर भगवान विष्णु राजा बलीलाई रक्षाबन्धन गरेको इतिहास रहेको छ। होलिकाले भाई हिरण्यकस्यपुलाई पुर्णिमाकै दिन रक्षाबन्धन गरेका थिए ।
यता महोत्तरीको जलेश्वर, मटिहानी, गौशाला, बर्दिबास, पिपरा, रामगोपालपुर, औरही, सम्सी लगायत ग्रामिण तथा शहरी क्षेत्रका बजारहरुमा राखीको बिक्री नभएको ब्यवसायीले बताए ।
प्रत्येक वर्ष साउन पूर्णिमाका दिन आफ्नो दाजु भाईको दीर्घायुको कामना गर्दै महोत्तरी लगायत मिथिलाञ्चलभरी हातमा राखी बाँधेर रक्षा बन्धन पर्व मनाउने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिको तर्क यस्तो यस्तो छ ‘सत्कर्मरत्नावली’ नाम ग्रन्थबाट उद्धृत श्लोक ‘वाजसनेयि’ र ‘उपाकर्म’ लागि मात्र भएको भन्दै ‘निर्णयसिन्धु’को उद्धरणमा ग्रहण र संक्रान्तिका दिन गर्न नमिल्ने कार्य समेत ‘उपाकर्म’ मात्र हो अन्य कृत्य होईन।’ उक्त विषयमा मैथिली साहित्य परिषद् मिथिला क्यालेण्डर निर्माण समितिसहित विद्वान पंडितहरुको तर्क यस्तो छ ‘निर्णयसिन्धु’ ग्रन्थमै उपाकर्म वेदाध्ययनसँग सम्बद्ध शब्द हो, प्राचीन कालमा वेदाध्ययन गर्नेहरु वर्षा वा कृषि कर्म आदिका कारण अध्ययनबाट विश्राम लिई पुनः वेदाध्ययनको काज साउन पूर्णिमादेखि आरम्भ गर्ने गर्दथे। जसलाई उपाकर्म वा उपाकृति भनिने भएकोले रक्षाबन्धन उपाकर्मको अंग नभएको मैथिली साहित्कार श्याम सुन्दर शशीले बताए।
कामेश्वरसिंह दरभंगा संस्कृत विश्वविद्यालयद्वारा प्रकाशित विश्व विद्यालय पञ्चाङ्गका प्रधान सम्पादक पंडित रामचन्द्र झा, वेद विभागाध्यक्ष पंडित विधेश्वर झा, ज्योतिष विभागाध्यक्ष श्री गङ्गेश ठाकुर सहित अनेकौ विद्वानहरुको मतानुसार यही विक्रम सम्बत् २०७४ सालका रक्षाबन्धन पर्व साउन २३ गते नै हुने जनाइएको छ ।
मिथिलाको धर्म, संस्कृति, पर्व त्यौहारको रक्षा गर्दै विभिन्न वर्ग समुदायद्वारा मनाइने रक्षाबन्धन पर्वका दिन साउन २३ गते पूर्ववत् सार्वजनिक विदा दिन समेत मिथिलावासीले सरकार माग गरेका छन्।