यातायात मन्त्री वीरबहादुर बलायरलाई सँगै लिएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल दिनभर सडकमा निस्किएका छन् ।
सडकमा रहेको खाल्डाखुल्डी, जाम र ठेकेदारहरुले गरेको काम उनीहरुले नियालेका छन् । जोरपाटी, बौद्ध, चावहिल, गौशाला, महाराजगंज, गोंगबु र कलंकी लगायतका स्थानको उनीहरुले निरीक्षण गरेका छन् ।
सडक विभाग,मेलम्ची खानेपानी आयोजना, काठमाडौं महानगरका प्रमुखसँग छलफल गरेर खनालले मन्त्री बलायरलाई बोलाएर यातायत र सडकको अवस्थाबारे जानकारी गराएका हुन् ।
निरीक्षणका क्रममा मन्त्री बलायरले खाल्डाखुल्डी चाँडोभन्दा चाँडो पुर्न आफूले मातहतका निकायलाई निर्देशन दिएको बताए। सडक बनाउने जिम्मा लिएका ठेकेदारहरुलाई पनि समयमा नै काम सम्पन्न गर्न उनले आग्रह गरे ।
एसएसपी खनालले उपत्यकामा धेरै जाम भएको भन्दै त्यसलाई हटाउन निर्देशन दिइसकेका छन्। उपत्यकाको ट्राफिक व्यवस्थापन केहिदिनभित्रै केही सहज रुपमा बनाउन आफूले सक्दो प्रयास गरिरहेको खनालले बताए।