बागलुङको तमानखोला गाउँपालिकाले पूर्वाधार निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेको छ । यस वर्षादेखि राज्यका तर्फबाट प्राप्त हुने आधारभूत सेवा सुविधाबाट समेत बञ्चित रहेका नागरिकलाई स्थानीय सरकारको अनुभूति हुने गरी नीति, कार्यक्रम र बजेट तय गरिएको गाउँपालिकाले जनाएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा तमानखोला गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ का लागि कुल १६ करोड बजेटमध्ये पूर्वाधारतर्फ मात्र ४ करोड ९९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख जोकलाल बुढाले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै मगरले आफ्नो पाँच वर्षीय कार्यकालमा जिल्लाको दुर्गम स्थानमा रहेपनि विशिष्ट पहिचान र सम्भावना सहितको गाउँपालिकालाई समृद्ध बनाउने उद्घोष गरे । ‘तमानखोला जिल्लाकै विशेष क्षेत्र हो, यहाँ भौगोलिक बनावटका हिसाबले थुप्रै समस्या पनि छ, सम्भावना पनि छ’, उनले भने, ‘यहाँ यातायात, शिक्षा, स्वास्थ्य, विद्युत तत्काल चाहिएको छ, हामी यही आधारभूत आवश्यकता पूरा गर्ने विषयबाट काम शुरू गर्दैछौँ ।’
जडिबुटी, पर्यटन, हाइड्रो पावर सञ्चालनको प्रचुर सम्भावना रहेकाले त्यसको पहिचान, संरक्षण र प्रर्वद्धनमा पनि उत्तिकै जोड दिने उनले बताए । गाउँपालिकाकै केन्द्रमा आउन पनि भौगोलिक दुर्गमताले ३/४ घण्टा लाग्ने अवस्थालाई लक्षित गरी एकीकृत बस्तीको अवधारणा पनि अघि बढाइने उनको भनाइ छ । तमान गाउँपालिकाको वडा नम्बर ३ तमानलाई मिनी शहरको रुपमा विकास गर्ने सोच समेत गाउँपालिकाको रहेको बताए ।
कार्यक्रममा तमानखोला गाउँपालिकाका कार्यकारी अधिकृत खिम विश्वकर्माले गाउँपालिकामा दरबन्दी अनुसारको कर्मचारी हुँदा स्थानीयको अपेक्षा अनुसार कार्यसम्पादनमा समस्या भएको बताए । उनका अनुसार अहिले कार्यकारी अधिकृत र लेखापाल गाउँपालिकामा कार्यरत रहेका छन् । ६ वटा वडा रहेको तमानखोलामा वडा तहमा पनि दुई सचिवले जिम्मेवारी सम्हालेका छन् ।