नेपाल र भारतको धार्मिकस्थलको रुपमा चिनिएको पडौललाई एक भव्य समारोहका बीच खुला दिसामुक्त घोषणा गरिएको छ । बलवा गाउँपालिकाको वडा नं. ३ र तत्कालीन पडौल गाउँ विकास समितिलाई जिल्लाको २२ औं खुला दिसामुक्त घोषणा गरिएको छ ।
जिल्ला खानेपानी तथा स्वच्छता समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी युवराज पौडेल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवेन्द्रकुमार झा र बलवा गाउँपालिकाका कार्यकारी प्रमुख बालवीर ठाकुरले संयुक्त रुपमा हरियो झण्डा लहराएर सो वडालाई खुला दिसामुक्त घोषणा गरेका हुन् ।
यूएन हेबिटेट नेपालको सहयोग एवम् रतौली युवा क्लब महोत्तरीको सहजीकरणमा गरिएको घोषणा सभामा सो वडाका १ हजार ६९ घरधुरीमा पूर्ण रुपमा शौचालय निर्माण गराई सो वडालाई खुला दिसामुक्त गराउन सफल भएको रतौली युवा क्लबका अध्यक्ष वैद्यनाथ चौधरीले बताए ।आफ्ना गाउँपालिकाको वडालाई खुला दिसामुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेका कार्यकारी अधिकृत बालविर ठाकुरलाई जिल्ला समन्वय समिति र खानेपानी तथा सरसफाइ कार्यालयले उपहार स्वरुप ५०—५० हजारी गरी एक लाख दिई पुरस्कृत गर्ने जनाइएको छ ।सो घोषणा सभामा स्थानीय नागरिक समाजका युवा संजय यादवले हतारमा खुला दिसामुक्त घोषणा गरिएको आरोप लगाउँदै अहिलेपनि खुला ठाउँमा दिसा हुँदै आएको आरोप लगाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले प्रसिद्ध कारिक स्थानमा स्थापना गरिएको खानेपानी एक महीनामा सञ्चालन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिँदै अब यस गाउँलाई पूर्ण दिसामुक्त वडा घोषणा गर्न सबैले एकजुट भएर काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । कार्यक्रममा स्थानीय विकास अधिकारी युवराज पौडेल, खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति महोत्तरीका प्रमुख देवेन्द्र कुमार झा, बलवा गाउँपालिकाका प्रमुख बालबीर ठाकुर, पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल, सहजीकरण गर्ने संस्था रतौली युवा क्लवका अध्यक्ष वैद्यनाथ चौधरी, राजपा मण्डलका अध्यक्ष रामबाबु साहसहित विभिन्न दलका नेताहरुले सम्बोधन गरेका थिए ।