‘रअ’को नेपाल एजेन्ट हुँ भन्दै ब्यापारीसँग ५० लाख माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले काठमाडौंले ४ जनालाई काठमाडौंबाट पक्राउ गरि चितवनमा बुझाएको छ।
अपहरण र ज्यान लिनेसम्मको धम्की दिइ उनीहरुले चितवनका एक ब्यापारीसँग ५० लाख रकम माग गरेको चितवनका एसपी दीपक थापाले जानकारी दिए।
पक्राउ पर्नेहरुमा घटनाका मुख्य योजनाकार धादिङको ज्वालामुखी गाउँपालिका–२ मैदीका ३० वर्षीय ईश्वर बस्नेत, सोही ठाउँका २२ वर्षीय रोशन बस्नेत, धादिङकै ज्वालामुखी गाउँपालिका–१ दुवार्थोकका २१ वर्षीय रामकृष्ण श्रेष्ठ र सोही गाउँपालिका–२ सातदोबाटोका २० वर्षीय मनोज श्रेष्ठ रहेका छन् ।
उनीहरुले चितवनको सौराह पुगी पीडितलाई पटक पटक फोन तथा एसएमएस गरी धम्काउने र ज्यान मार्ने धम्की दिने तथा छोरोको स्कुलको जानकारी लिई अपहरण गर्ने धम्की दिएको खुल्न आएको छ । विश्वासिलो मान्छे भए खातामा रकम जम्मा गर्न लगाउने नभए आइएमईआई गर्न लगाउने उनीहरुको योजना रहेको समेत खुल्न आएको छ ।
उनीहरुले आफूहरुले नै जमीम साह र दाङका ब्यापारी राजकुमार श्रेष्ठको हत्या गरेको भन्दै ब्यापारीसँग रकम मागेका थिए। ब्यापारी मार्नका लागि २० लाख सुपारी लिइसकेको भन्दै ५० लाख दिए हत्या नगर्ने भन्दै रकम माग गरेका थिए।
१ गोली प्रहार गरेको आफूहरुको रेट १ लाख २५ हजार भएको भन्दै उनीहरुले ब्यापारी तर्साएका थिए।
पक्राउ अभियुक्तहरु उपर चितवन जिल्ला अदालतबाट म्याद थप गरी मुलुकी ऐन अपहरण तथा शरीर बन्धक उद्योग महल र आपराधिक लाभ लिन खोजेको (संगठित अपराध निवारण ऐन, २०७०) अनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।