बाग्लुङको तमानखोला गाउँपालिका—१ साविकको बोङगादोभान—खुखांनी जोड्ने झोलुङ्गे पुलमा निरन्तरको वर्षासँगै आएको पहिरोले क्षति पुर्याएपछि त्यस क्षेत्रका बासिन्दाहरू जोखीमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
जीर्ण अवस्थामा रहेको पुल पहिरोले क्षति गरेपछि आवतजावत गर्न जोखीम बढेको स्थानीयको भनाइ छ । पहिरोले झोलुङ्गे पुलको माथिल्लो लठाहरू छिद्रेको हुनाले जतिबेला पनि दुर्घटना हुनसक्ने स्थानिय खगेन्द्रमान पुनले बताए । क्षति भएको पुल निर्माणका लागि गाउँपालिका परिषदबाट बजेट माग गरेपनि त्यसको सुनुवाई हुन नसकेको उनको गुनासो छ । ‘पुल क्षति भएको झण्डै एक महीना भयो । पटक—पटक गाउँपालिका परिषदमा बजेट माग गरेपनि सुनुवाई भएन ।’ पुनले भने,‘निर्माणमा ढिलाईले दैनिक जोखीम बढेको छ ।
खोलाको कटानले झोलुङ्गेले पुलको जग समेत भासिँदै गएकाले जोखीम बढेको जनाइएको छ । पुल मर्मतका लागि तत्काल ५ लाख आवश्यक पर्ने पुनले बताए । पुल मर्मतका लागि आफूहरुले स्थलगत अध्ययन गरी आवश्यक कामकाज अगाडि बढाउन लागेको तमान खोला गाउँपालिकाका प्रमुख जोगलाल बुढाले बताए । ‘हामी यस क्षेत्रका सबै पुलहरुको अध्ययन गरी आवश्यकता अनुसार मर्मत प्रक्रिया अगाडि बढाउँछौ,’ बुढाले भने ‘एक दुई दिनमा पुल मर्मतका लागि काम अगाडि बढाउने छौँ ।’
६ वर्षअगाडि बनेको पुलदेखि त्यस गाउँपालिकाका दुई वडाका स्थानीयहरू दैनिक घाँस, दाउरा, पशु चौपायाँ आवतजावत गर्ने गरेका छन् । झोलुङ्गे पुलका अधिकांश लठा छिद्रेकाले पनि आवतजावत गर्ने स्थानीयहरुलाई कठिनाइ भएको छ ।