राप्तीका एकसय ८२ सहकारी संस्थाहरू निष्क्रियको सूचीमा परेका छन् । तीन वर्षदेखि मासिक रुपमा भएका कामकाजको विवरण, वार्षिक लेखापरीक्षण प्रतिवेदन, विभिन्न समयमा सहकारी डिभिजन कार्यालय, वार्षिक साधारणसभा, बैठकको अभिलेख विवरण नपठाउने सहकारी संस्थालाई निष्क्रियको सूचीमा राखिएको डिभिजन कार्यालय दाङले जानकारी दिएको छ । राप्तीमा सबैभन्दा धेरै सहकारी रुकुममा निष्क्रिय भएको तथ्याङ्कले देखाएको छ ।
रुकुम जिल्लामा ५२, रोल्पामा ४१, प्यूठान र सल्यानमा ३२/३२ र दाङका २५ सहकारी संस्था गत आर्थिक वर्षमा निष्क्रिय भएको कार्यालयले जनाएको छ । सहकारी ऐन ०४८ को दफा ४१ को उपदफा ३ अनुसार सहकारी संस्थाहरुको निरीक्षण गर्दा लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहने सहकारी खारेज हुने डिभिजन सहकारी कार्यालय दाङका सहकारी अधिकृत बिनोद पौडेलले जानकारी दिए ।
उनका अनुसार काम गर्ने लक्ष्य, कार्ययोजना नभएका तथा श्रम गर्न नसक्ने सहकारी संस्थाहरू निष्क्रिय सूचीमा पर्ने गर्छन् । पौडेलले सहकारी संख्यात्मक रुपमा बढी भएपनि गुणात्मक रुपमा कमजोर भएको बताए । ‘सहकारीहरुको संख्या जति छ , त्यहि अनुसार उत्पादन वृद्धि हुनुपर्ने हो’ उनले भने ‘तर त्यसो हुन सकेको छै्रन ।’ दाङमा सहकारीहरुको संख्याका आधारमा बिउ बिजन, कृषिदुग्ध, बाख्रापालनमा आत्मनिर्भर बनाउन सक्ने भएपनि त्यो हुन नसक्नु सहकारी आन्दोलन कमजोर बन्दै गएको उनको तर्क छ ।
चार सहकारी खारेजयसैबीच गत आर्थिक वर्ष ०७३/७४को आर्थिक मसान्तसम्म राप्तीका चार सहकारी खारेज भएका छन् । डिभिजन सहकारी कार्यालय दाङले निष्क्रिय रहेका चार वटा सहकारी संस्थालाई खारेज गरेको हो । विगत तीन वर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमित रुपमा डिभिजन सहकारी कार्यालय दाङमा पेस नगरेको, लेखा परीक्षण पेस नगरिएको, कार्यालय सञ्चालन नगरिएकाले सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालय दाङका सहकारी अधिकृत बिनोद पौडेलले जानकारी दिए ।
खारेज हुनेमा दाङका तीन र प्यूठानको एउटा सहकारी रहेको सहकारी निरीक्षक समेत रहेका पौडेलले बताए । उनका अनुसार खारेजी हुनेमा दुई वटा दुग्ध, एउटा बचत र एउटा कृषि सहकारी छन् । दाङको गुरुदेव दुग्ध सहकारी संस्था बेला, लक्ष्मी अमृत दुग्द सहकारी संस्था लालमटिया, जिविसका कृषि सहकारी संंस्था छन् भने प्यूठानको जनसुविधा बचत तथा ऋण सहकारी संस्था रहेको छ ।
प्रत्येक सहकारीले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्रमा रजिष्ट्रार समक्ष पेस गर्नुपर्ने प्रावधान रहेपनि ती सहकारी संस्थाले उक्त प्रावधान पालन नगरेकाले खारेज गरिएको सहकारी डिभिजन कार्यालय दाङका सहकारी निरीक्षक गोपाल पौडेलले बताए । सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेस गर्नुपर्ने भएपनि खारेज भएकाले कुनै विवरण उपलब्ध गराएका थिएनन् ।
५८ नयाँ सहकारीडिभिजन सहकारी कार्यालय, दाङमा आर्थिक वर्ष २०७३/०७४ मा सहकारी दर्ता हुने क्रम घटेको पाइएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा राप्तीमा ९९ वटा नयाँ सहकारी दर्ता भएका थिए भने गत आर्थिक वर्षमा राप्तीमा ५८ सहकारी संस्था मात्रै दर्ता भएका छन् । गत आर्थिक वर्षमा दाङ, सल्यान र रुकुममा १४÷१४, प्यूठानमा ९ र रोल्पामा ६ वटा सहकारी संस्था दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७२/०७३ मा दाङमा २८, रोल्पा र रुकुममा २१/२१, प्यूठानमा १५ तथा सल्यानमा १४ वटा सहकारी संस्था दर्ता भएका थिए । नगरपालिका क्षेत्रमा यसअघि नै आवश्यकभन्दा धेरै सहकारी दर्ता भएकाले दर्ता हुनेको संख्यामा कमी आएको सहकारी अधिकृत बिनोद पौडेलले बताए । उनले भने, ‘नगरपालिका क्षेत्रमा बचत तथा ऋण सहकारी संस्थाहरु आवश्यकभन्दा धेरै दर्ता भइसकेका छन्, त्यसैले दर्ता हुने संख्यामा कमी आएको हो ।’