तुलसीपुर बजारलाई बुधबारदेखि हर्न निषेधित क्षेत्र बनाइने भएको छ । साउन १ गते नवनिर्वाचित वडा अध्यक्ष विरेन्द्रकुमार शाहको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले बुधबारदेखि लागू हुने गरी दाङको तुलसीपुरलाई हर्न निषेधित क्षेत्र बनाउने घोषणा गरेको हो ।
मंगलबार तुलसीपुरका छ स्थानमा हर्न निषेधित क्षेत्र भन्ने साइनबोर्ड स्थापना गरिएको छ । नेपाली काँग्रेसबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा निर्वाचित शाहले बजार क्षेत्रमा हुँदै आएको ध्वनी प्रदुषण नियन्त्रण सहयोगका लागि सबै नगरवासीमा अनुरोध गरे । तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्नु पूर्व जानकारीका लागि माईकिङ पनि हुँदै आएको छ ।
त्यसैगरी, सवारी साधनमा प्रचार प्रसारका लागि स्टीकर टाँस्न शुरू गरिएको वडा अध्यक्ष शाहले बताए । बजारका मुख्य चोकहरुमा पैदल यात्रुको लागि जेब्राक्रस निर्माण गर्ने उनले बताए । ट्राफिक प्रहरीसँग समन्वयन गरी एक हप्तासम्म सबै खालका चालकलाई सचेत तुल्याउने र त्यसपछि पनि मनपरी हर्न बजाउनेहरुलाई आर्थिक जरिवाना गर्ने निर्णय भएको शाहले जानकारी दिए ।
उनले बजारको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न बुधबारदेखि नै काम शुरू गर्ने बताए । त्यसैगरी बधुबारदेखि नै बिहान नौ बजेदेखि ११ बजेसम्म बजार क्षेत्रमा कुनैपनि मालवाहक सवारी साधनले लोड अनलोड गर्न नपाउने व्यवस्था गरिएको छ । दाङका बजारहरुमध्ये तुलसीपुरमा पहिलो पटक हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।