पाकिस्तानको भूमिमा जासुसी र राज्य विरोधी क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका भारतीय सेनाका कर्नेल कुलभुषण जादवलाई पाकिस्तानको सैनिक अदालतले मृत्युदण्ड दिने फैसला गरेको छ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार गत वर्ष पाकिस्तानमा पक्राउ परेका भारतीय सेनाका कर्नेल जादवविरुद्ध त्यहाँको आन्दोलित प्रदेश बालोचिस्तानमा भारतीय गुप्तचर संस्था ‘रअ’का लागि काम गरेको तथा विखण्डनवादी क्रियाकलाप संग्लग्न भएको आरोप छ।
अदालतको यो आदेशसँगै पाकिस्तान र भारतबीचको जासुसी युद्धले नाटकीय मोड लिएको देखिन्छ। हिजो मात्र पाकिस्तानी सञ्चारमाध्यमले नेपाल भ्रमणमा रहेका आफ्ना देशका पूर्वकर्नेल मोहम्मद हबिब सीमा क्षेत्र लुम्बिनीबाट बिहिबारदेखि बेपत्ता भएको र उनलाई ‘रअ’ले अपहरण गरेको हुनसक्ने आरोप लगाएका थिए।
जादव बलोचिस्तानको मस्केल इलाकाबाट पक्राउ परेको पाकिस्तानले जनाएको छ।
भारतले भने जादव ‘रअ’का लागि काम गर्थे भन्ने कुराको खण्डन गरेको थियो। भारतको परराष्ट्र मन्त्रालयका अनुसार जादव भारतीय सेनाका अधिकृत हुन्, तर केही वर्षअघि नै उनले राजीनामा दिएका थिए। उनी वैदेशिक व्यापारमा संग्लग्न रहेको भारतीय पक्षको दाबी छ।
जादव कसरी पाकिस्तान पुगे भन्ने कुरा आफूलाई जानकारी नभएको भन्दै उनलाई पाकिस्तानी जासुसी संस्था ‘आइएसआइ’ले अपहरण गरेर पाकिस्तान पुर्याएको हुनसक्ने भारतीय पक्षको आशंका छ।
पाकिस्तानले भने उनलाई सोझै ‘रअ’का प्रमुख र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पाकिस्तानमा आफ्नो कामको रिपोर्ट गर्ने गरेको बताएको छ।
पाकिस्तानी पत्रिका डनले सैनिक अदालतको फैसलालाई उदृत गर्दै लेखेको छ–जादवको उद्देश्य चीन–पाकिस्तान आर्थिक कोरिडरमा निर्माणमा भाँजो हाल्नु र ग्वादर बन्दरगाह परियोजना बन्न नदिनु थियो।