‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ भन्ने नामबाट १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
उक्त संस्थाका अध्यक्ष बताउने प्रकाश पाठकले केही दिनअघि उच्च पदस्थ व्यक्तिहरूमाथि धम्की दिएका थिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायतलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएपछि प्रहरीले यसबारे खोजी र अनुसन्धान अघि बढाएको हो। अनुसन्धानको क्रममा केहीसँग सोधपुछ गरिएको प्रहरी उच्च स्रोतले बतायो।
‘३/४ जना व्यक्तिहरू उनीसँग सम्बन्धित हुनसक्ने भएकाले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं,’ स्रोतले भन्यो, ‘धम्क्याउने व्यक्तिको खोजी भइरहेको छ’
धम्की दिँदै पठाइएको पत्रमा प्रकाश पाठकको नाम उल्लेख छ। काभ्रे घर हुने उनले आफू भारतमा रहेको दाबी गर्दै आएका छन्।
उनले अख्तियार प्रमुख राईलाई लेखिएको पत्रमा भनिएको छ, ‘हाम्रो केन्द्रीय कमिटीले तपाईंसहित १० जना भ्रष्ट प्रशासक र अस्थिर सरकारका कारण सत्तामा आएकाको हत्या गर्ने निर्णय गरेकोमा दु:खी छौं। तपाईंले राजीनामा दिनुपर्छ वा मारिनुपर्नेछ। तपाईंले १० दिनभित्र राजीनामा दिएमा हामी आक्रमण गर्ने छैनौं।’
पाठकले भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीलाई लगाएर यो आक्रमण गर्ने उल्लेख गरेका छन्। तर जिम्मेवारी भने आफूले लिने पत्रमा भनिएको छ।
यो पत्र केहीदिन अघि नै उच्चपदस्थ व्यक्तिहरूलाई पठाइएको थियो। यसरी इमेल आएपछि नेपाल प्रहरीका विभिन्न निकायले यससम्बन्धी अनुसन्धान गरिरहेको छ।
यस घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लगायत अन्य इन्टिलिजेन्स युनिटहरूले खोजी गरिरहेका छन्। प्रकाश पाठक भन्ने व्यक्तिको समूह कति ठूलो छ भन्नेबारे खुलिसकेको छैन। उनले आफ्नो फेसबुकमार्फत एउटा भिडिओ समेत राखेका छन्।
भिडिओमा उनले आफू उक्त समूहको अध्यक्ष भएको र अख्तियार प्रमुख राई लगायत १० जनाको हत्या गर्ने योजना सुनाएका छन्। यस्तै उनले प्रहरीले आफूलाई खोजी गरिरहेकोबारे पनि अवगत नै रहेको बताएका छन्।
‘मेरो कल डिटेल हेर्नका लागि अदालतबाट अनुमति लिनुपर्थ्यो। मैले सूची सार्वजनिक गरेको केही घण्टामै प्रहरी प्रशासनको दुरूपयोग गरेर प्रेम राईले जुन किसिमको धरपकड गरिरहेको छ मेरो केटाहरूलाई, पाँच सात जना पक्राउ भएको मैले सुनेको छु,’ उनले भनेका छन्, ‘यति छिटो अपराधीलाई पक्राउ गर्ने हो भने नेपालमा सुशासन कायम हुन्थ्यो। त्यतातिर ध्यान छैन। मैले जुन किसिमको थ्रेट दिएको थिएँ, खुरूक्कन राजीनामा दिनुको सट्टा आज दुई दिन भयो, मेरो विचारमा प्रेम राईको आयु त्यति लामो छ जस्तो मलाई लाग्दैन। उनलाई १० दिन भन्दा अगाडि नै सक्काइदिन्छौं।’
आफू भारतको जुनजुन स्थानमा बसिरहेको हो त्यहाँत्यहाँ प्रहरी पुगेको पनि उनले बताए।
‘यदि राजीनामा नदिने हो र प्रहरी र अदालतको दुरूपयोग गरेर जुन किसिमको काम गरिरहेको छ। मैले इन्डियाको जुनजुन ठाउँमा शरण लिएको थिएँ, त्यो सबै ठाउँमा उनले प्रहरी पठाएर, मलाई घरको ओनर (घरधनी)ले फोन गरेको थियो। ८/१० ठाउँमा जहाँ म बसेको थिएँ प्रहरी पठाएर मलाई पक्राउ गर्न खोजिँदैछ, तर सक्दैन। म अति नै गोप्य ठाउँमा छु। म एक घण्टामा चार ठाउँ परिवर्तन गरिरहेको छु,’ उनले भने, ‘म भन्न चाहन्छु, मलाई समात्नुको सट्टा, तँ आफ्नो ज्यानको सुरक्षा गर।’