तपाईंहरू बेलुकी कति बजे खाना खानुहुन्छ?
व्यस्त दिनचर्याका कारण धेरै मानिसहरूको बेलुका ढिलो खाना खाने बानी बढ्दो छ। ढिला खाने अनि खाएको केही बेरमै सुतिहाल्ने बानीले शरीरमा हानि पुर्याइरहेको हुन्छ।
एक नयाँ अध्ययनले भनेको छ— तपाईंले के खानुहुन्छ भन्ने कुरा जति महत्त्वपूर्ण छ, कुन बेला खानुहुन्छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ।
अध्ययनले बेलुका सबभन्दा ढिलोमा ७–८ बजेसम्म खाना खाइसक्नु उपयुक्त हुने देखाएको छ। यसले आन्द्राको स्वास्थ्य तथा शरीरको समग्र अवस्था दुवैमा राम्रो प्रभाव पर्छ।
आन्द्रा स्वास्थ्य सम्बन्धी कार्यमा संलग्न एक पोषणविद गर्गी सरीनले भनेकी छन्, 'ढिलो खानाले पाचन बिग्रिन सक्छ। रगतमा चिनीको मात्रा बढ्न सक्छ। र, दीर्घकालीन समस्या उत्पन्न हुन सक्छ। यी जोखिमबाट बच्न खानाको समयमा ध्यान दिनु अत्यन्तै आवश्यक छ।'
बेलुका खाने र सुत्ने समयबीच कम्तीमा दुई घन्टा अन्तर हुनुपर्ने पनि अध्ययनले देखाएको छ।
राति चाँडै खाना खानुका मुख्य ५ फाइदा यस्ता छन्।
१. शरीरले पचाउने र पोषक तत्व लिने प्रक्रियामा सुधार
बेलुकी छिट्टै खाना खाँदा पाचन सजिलो हुन्छ र शरीरले पोषक तत्वहरू राम्रोसँग लिन सक्छ। हाम्रो शरीरको प्राकृतिक दैनिक चक्र अनुसार बेलुका छिटो खाने बित्तिकै पाचन प्रक्रियाले राम्रो काम गर्छ।
सरीन भन्छिन्, '७ वा ८ बजेसम्म खाना खाइसक्दा सुत्नुअघि पाचन प्रणालीलाई आफ्नो काम पूरा गर्न पर्याप्त समय मिल्छ।'
अनुसन्धानहरूका अनुसार साँझतिर शरीरको पाचन गति सुस्त हुन्छ। बेलुका ढिला भारी खाना खाँदा पेटमा ग्यास हुने, फुल्ने र आन्द्राभित्रको क्रियाकलाप बढेर असहज हुन सक्छ।
केही अध्ययनले नियमित समयमा भोजन गर्ने बानी भएकाहरूको पाचन ५–१० प्रतिशतसम्म सुधारेको देखाएका छन्।
२. निद्राको गुणस्तर बढाउँछ
त्यस्तै बेलुका खानाको समयले निद्रामा ठूलो प्रभाव पार्छ। ढिलो खानाले शरीर आराम मोडमा ढिलो प्रवेश गर्छ र निद्रा फिक्का वा अव्यवस्थित हुन सक्छ।
यदि तपाईंले राति ८ बजेअघि नै खाइसक्नुभयो भने शरीर आरामका लागि तयार हुन्छ र गहिरो निद्रा पर्छ।
आन्द्रा र मस्तिष्कबीच गहिरो सम्बन्ध छ। पाचन राम्रो हुँदा शरीरले शान्त र स्थिर बनाउन सहयोग गर्ने तत्वहरू सहजै बनाउँछ, जसले निद्रा गुणस्तरीय बनाउँछ। चाँडै खाएर सुत्दा बिहान उठ्दा शरीर हलुका र ताजा पनि महसुस हुन्छ।
३. रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत
बेलुका छिट्टै खाने बानीले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ।
सरीनका अनुसार, ढिलो खाना खाँदा शरीरले चिनी व्यवस्थापन गर्ने क्षमता कम हुन्छ र राति मात्रा बढाउन सक्छ।
यो विशेषगरी चिनी रोग (मधुमेह) सम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि झनै महत्त्वपूर्ण हुन्छ।
नियमित समयमा खाना खाँदा रगतमा चिनीको मात्रा स्थिर रहन्छ। दिउँसो वा अपराह्न चाँडै भारी भोजन र बेलुका हल्का भोजन गर्दा शरीरलाई राम्रो हुन्छ।
४. शरीर सुन्निने समस्या कम गर्छ
दीर्घकालीन सुन्निने समस्या मोटोपन, मुटुरोग, मधुमेहजस्ता धेरै रोगको कारण बन्न सक्छ।
सरीन भन्छिन्, 'ढिलो खाना खाँदा आन्द्राको कार्य बिग्रन्छ, जसले शरीर सुन्निने समस्या बढाउँछ।
बेलुकी ७–८ बजेसम्म खाना खाइसक्दा शरीर अनावश्यक रूपमा सुन्निने समस्या कम हुन सक्छ।
ढिलो खाना खाँदा अम्लता बढ्छ र आन्द्राभित्रका फाइदाजनक जीवाणुको सन्तुलन बिग्रिन्छ र शरीरमा अस्थिरता आउँछ। छिटो र हल्का खानाले आन्द्राको स्वास्थ्य राम्रो हुने भएकाले रोग प्रतिरोधात्मक शक्ति पनि राम्रो हुन्छ।
५. सजग भएर खाने बानी विकास हुन्छ
बेलुका छिट्टै खाना खाँदा मानिस खानेकुरामा ध्यान केन्द्रित गर्न सक्छ।
अहिले मोबाइल, टेलिभिजन वा कामका कारण हतार–हतार खाने, राम्रोसँग नचपाउने, अनि पाचन बिग्रिने समस्या बढिरहेको छ।
८ बजेसम्म खान सक्ने बानीले शान्त र सजग भएर ध्यानपूर्वक खाने वातावरण बनाउने सरिन बताउँछिन्।
सजग भएर खाँदा भोजन राम्रोसँग पच्ने मात्र होइन, स्वाद पनि राम्रोसँग लिन सकिन्छ। खाने बेलामा हतार नगर्ने, राम्ररी चपाउने र स्क्रिनबाट टाढा बस्ने बानीले पाचन र आन्द्राको स्वास्थ्य दुवैमा सुधार ल्याउँछ।
(अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको)