पूर्वी नवलपरासीमा तीन जना सवार मोटरसाइकल बससँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार राति पौने १० बजे पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१६ थारू संग्रहालय नजिक पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा कावासोती जाँदै गरेको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकल बुटवलबाट नारायणघाट आउँदै गरेको बससँग ठोक्किएको थियो।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार बस डण्डाचोकमा केही समय रोकिएको थियो। सोही क्रममा पछाडिबाट आएको मोटरसाइकल बसको पछाडिको भागमा ठोक्किएको थियो।
त्यसपछि विपरीत दिशाबाट आउँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार मृत्यु हुनेमा कावासोती नगरपालिका-१६ गैडाचोक बस्ने वर्ष ४२ वर्षीय हिरा बहादुर परियार छन्।
ठक्करबाट गम्भीर घाइते भएका परियारको उपचार क्रममा राति साढे १० बजे मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका-३ पुरानो कावासोतीकी ३२ वर्षीय सुनिता जोहार्जा गम्भीर भएकी छन्।
उनको टाउकोमा चोट रहेको र उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल रेफर गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमै सवार त्रिभुवनटार बस्ने २४ वर्षीय मिना मगर पनि घाइते भएकी छन्।
प्रहरीका अनुसार दुर्घटनापछि बस फरार भएको थियो।
त्यस्तै ना ६ ख ४८१३ नम्बरको ट्रक र त्यसका चालक मकवानपुरको थाहा नगरपालिका बस्ने बर्ष २८ को बिज्ञान केसीलाई भने नियन्त्रणमा लिएको थियो।
कावासोतीबाट भागेको बस पनि बर्दघाटबाट नियन्त्रणमा लिइएको थियो।
कर्णाली प्रदेश ०२-००१ख ०५६४ नम्बरको बस र त्यसका चालक पर्साको जगन्नाथपुर गाउँपालिका- ५ बस्ने बर्ष ४४ को जैनुल मियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।