पुरूषको स्वास्थ्यमा धेरै कुरा पर्छन्। साधारण मान्छेलाई हुने मुटु, प्रेसर, मधुमेह अनि यौन स्वास्थ्यदेखि लिएर प्रोस्टेट समस्या हुने भएकाले यसलाई पुरूष स्वास्थ्यको मुख्य पाटोको रूपमा लिइन्छ।
पुरूषको कामको चरित्रले पनि उसलाई शारीरिक तथा मानसिक धेरै तनाव हुने हुन्छ। जसले गर्दा उनीहरूलाई चोटपटक लाग्ने, मुटुको रोगदेखि लिएर धेरै खालका समस्या हुन्छन्। यौन स्वास्थ्य र प्रोस्टेट पुरूष स्वास्थ्यका महत्वपूर्ण कुरा हो।
प्रत्येक वर्ष नोभेम्बरलाई पुरूष स्वास्थ्य जनेचतनाको रूपमा मनाउने चलन छ।
त्यही अनुसार यो महिनालाई ध्यान दिएर म कार्यरत मेडिसिटी अस्पतालले कतिपय प्याकेजको कार्यक्रम समेत ल्याएको छ।
प्रोस्टेट क्यान्सरकै विषयमा कार्यक्रम गर्न हामीले विभिन्न विकसित देशका चिकित्सकलाई बोलाएर ज्ञानको आदानप्रदान कार्यक्रम समेत राखेका छौं।
के हो प्रोस्टेटको समस्या?
पुरूष स्वास्थ्यको कुरा गर्दा सबभन्दा धेरै बहसमा आउने प्रोस्टेटको समस्या हो।
प्रोस्टेट भनेको उमेर भएको व्यक्तिलाई हुने एउटा समस्या हो। प्रोस्टेट ग्रन्थी सबै केटा मान्छेमा हुन्छ। यो जन्मजात हुने ग्रन्थी हो। सुरूमा सानो हुन्छ अनि विस्तारै यौवन अवस्था आएपछि यसको आकार पनि बढ्छ।
४० वर्ष भएपछि यसको आकार अलि बढ्न सुरू हुन्छ। ५०/६० वर्ष पुगेपछि मान्छेलाई यसले समस्या दिन थाल्छ। सबैजसो पुरूषले प्रोस्टेटका कारणले केही न केही पिसाबको समस्या बेहोर्न परेको हुन्छ।
प्रोस्टेटको समस्यालाई हेर्ने हो भने ६० वर्षलाई आधार मान्दा ६० कटेका ६० प्रतिशतलाई प्रोस्टेटको समस्या हुन्छ।
प्रोस्टेटको समस्याको कारणले पिसाबको धारा राम्रो नहुने, पिसाबको लागि बल गर्नुपर्ने, पिसाब ननिख्रिने, कहिलेकाहीँ शौचालय नै पुग्न नसकिने, पिसाब रोकिएर आउने हुन्छ। अनि राति धेरै पटक उठ्न पर्ने लगायतका समस्या हुन्छन्।
यो समस्या बढ्दै गयो भने कहिलेकाहीँ पिसाब बन्द भएर दौडादौड गर्नुपर्ने अवस्था समेत आउँछ। प्रोस्टेटकै कारणले संक्रमण हुने, किड्नीले काम नगर्ने हुन सक्छ।
सानै उमेरदेखि प्रोस्टेटको समस्या हुँदैन। सेक्सुअल्ली सक्रिय पुरूषहरूमा प्रोस्टेटको संक्रमण धेरै हुन्छ।
प्रोस्टेटको संक्रमण हुँदा पनि ज्वरो आउने, पिसाब राम्रोसँग नहुने तल्लो पेट दुख्ने लगायतका समस्या हुन सक्छ। यस्ता समस्याको उपचार गराएमा छोटो समयमा निको हुन्छ।
प्रोस्टेटको समस्या सामान्यतया ५० कटेपछि धेरै हुन्छ। यो यही कारणले हुन्छ भनेर भन्न सकिँदैन। संक्रमण, हर्मोनको गडबडी अनि कति वंशाणुगत कारणले यो समस्या देखिन्छ।
प्रोस्टेटको साधारण समस्या हुनेलाई चिया कफी, पानी खाने शैलीमा मात्र परिवर्तन गरे हुन्छ। अर्थात् खानपिन र सुत्ने गतिविधि परिवर्तन गर्दा मात्र पनि यो रोग निको हुन्छ।
प्रोस्टेटका धेरै समस्याको औषधिबाटै निको हुन्छ। अर्थात् ७०/८० प्रतिशत समस्याको उपचार औषधिबाटै सम्भव छ।
बिरामीलाई औषधिले पनि भएन भने मात्र अपरेसन गर्ने हो। औषधि खाएकामध्ये ६०/७० प्रतिशतलाई रोग निको हुन्छ। समग्रमा भन्ने हो भने प्रोस्टेटको उपचार यसको समस्या कस्तो छ भन्ने आधारमा गरिन्छ।
प्रोस्टेट क्यान्सर बढ्दो छ।
पुरूष स्वास्थ्य भन्नसाथ अहिले देखिएको भनेको प्रोस्टेट बढ्ने र प्रोस्टेट क्यान्सरलाई मुख्य मानिन्छ।
विदेशमा प्रोस्टेट क्यान्सर धेरै हुने भएकाले विदेशमा रहेका छोराछोरीले समेत नेपालमा रहेका आफ्ना अभिभावकलाई जँचाउन भन्ने रहेछन्। जसले गर्दा केही चासो भने बढेको छ।
आफ्नो परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर छ भने त्यस्तो परिवारको सदस्यले ४५ वर्ष पुगेपछि स्क्रिनिङ गर्नुपर्छ। परिवारको सदस्यमा समस्या छैन भने ५० वर्ष पुगेपछि स्क्रिनिङ गर्नुपर्छ। जसले पनि स्क्रिनिङ गर्नुपर्छ भन्ने छैन। जसलाई पिसाबको समस्या देखिन्छ उनीहरूले परीक्षण गर्ने हो।
अहिले प्रोस्टेट क्यान्सर सोचेकोभन्दा धेरै बढिरहेको छ।
प्रोस्टेटभित्रै एउटा क्यान्सर हुन्छ, त्योभन्दा अलि बाहिर निस्किएको क्यान्सर हुन्छ अनि त्यो भन्दा बाहिर हड्डीमा फैलिएको क्यान्सर हुन्छ। दुर्भाग्यवस हामीकहाँ गतिलोसँग स्क्रिनिङ हुँदैन। जसले गर्दा क्यान्सर फैलिएपछि मात्र बिरामी आइपुग्छन्। सुरूमै थाहा भयो भने अपरेसन गरेर क्यान्सर फाल्न सकिन्छ। यसको लागि रोबोटिक सर्जरी पनि सुरू भएको छ। यसको उपचारको लागि रोबोटिक सर्जरी सबभन्दा उपयुक्त हो। तर नेपालमा यसको उपलब्धता अझै राम्रोसँग हुन सकेको छैन।
ओझेलमा छ पुरूष यौन स्वास्थ्य
पुरूषलाई अरू चासो हुने भनेको यौन स्वास्थ्य पनि हो। कतिपय कुरा मान्छेले बाहिर भन्न चाहँदैनन्। जस्तो यौन इच्छा शक्ति कम हुनु,अंग कडा नहुने, शिघ्र स्खलन हुने लगायतका समस्या लिएर पुरूषहरू आँउछन्।
यस्तो समस्या युवादेखि वृद्धसम्मलाई हुन्छ। उमेर पुगिसकेकाहरूमध्ये कतिले यो प्राकृतिक नै हो कि भनेर उपचार गरेका हुँदैनन्। कतिपय भने ७०/७५ वर्षको उमेरमा समेत जँचाउन आइरहेका हुन्छन्।
पुरूषलाई देखिने यौन समस्याहरू धेरै कामसँग सम्बन्धित हुन्छन्। तनाव अनि सम्बन्धसँग सम्बन्धित समेत हुन्छन्। पहिला पुरूषहरू यसबारे भन्न चाहँदैनथे। अहिले भने विस्तारै भन्ने क्रम बढ्न थालेको छ। अहिले युवाहरू आफ्ना समस्या राम्रैसँग भन्ने गर्छन्।
अर्को विदेश जाने क्रमले प्रजनन स्वास्थ्यमा समेत असर परेको छ।
युवायुवती विदेश जाँदा लामो समय ग्याप हुन्छ। यसले नेपालको समग्र जनसंख्यामै असर गरेको छ। पछिल्लो ३/४ वर्षको तथ्याङ्क हेर्ने हो भने जनसंख्या खासै बढेको देखिँदैन। यहाँको नम्बर बढ्नेभन्दा बाहिर निस्किने धेरै भएका छन्।
लामो समय ग्याप हुनु, तनावमा काम गर्नु लगायतका कारणले यौन स्वास्थ्यमा असर परेको छ।
पुरूष स्वास्थ्यको कुरा गर्दैगर्दा यो धेरै नै ओझेलमा परेको छ। महिलाको स्वास्थ्य हेर्नलाई धेरै अस्पताल छन् अनि बालबालिकाको पनि उत्तिकै छन्। उनीहरूको लागि थुप्रै डोनर समेत छन्। तर उमेर पुगेका पुरूषको हकमा भने चासो दिएको पाइँदैन। यसका लागि कुनै निकायले हेर्दैन।
सरकारको बीमा कार्यक्रम बाहेक अन्यत्र कुनै सुविधा छैन। जसले गर्दा सीमान्तकृत पुरूषहरूलाई धेरै समस्या परेको छ। त्यसैले यौन दुर्बलता र प्रोस्टेटसँग सम्बन्धित रोगमा चासो पुग्न जरूरी छ।
(पुरूष स्वास्थ्य समस्या, यसका समाधान लगायतका विषयमा केन्द्रित रहेर नेपाल मेडिसिटी अस्पतालमा कार्यरत वरिष्ठ युरोलोजिष्ट डा.महेश बहादुर अधिकारीसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)