अहिले काठमाडौं महानगरपालिकाले लैनचौर क्षेत्रमा एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान सुरू गरेको छ।
यसअघि पनि काठमाडौं लगायत विभिन्न ठाउँहरूमा घर नम्बर राखेको त देख्नुभएकै होला। तर यो प्रणाली पहिलेभन्दा फरक प्रणाली भएको 'कता हो एप' का रिसर्च एण्ड डाइरेक्टर लक्ष्मण रिमाल बताउँछन्।
अहिलेको डिजिटल घर नम्बर प्रणाली पहिलेभन्दा फरक किन छ र तपाईंले पनि कसरी निःशुल्क डिजिटल ठेगाना प्रणाली बनाउन सक्नुहुन्छ भनेर हामी यो स्टोरीमा जानकारी दिनेछौं।
पहिले सुरू गरौं यो प्रणालीको विकास तथा व्यवस्थापन कसरी, किन र कसले नेपालमा गर्यो?
यो प्रणालीको विकास रामलक्ष्मण इनोभेसनका राम र लक्ष्मण रिमालले गरेका हुन्। उनीहरू जुम्ल्याहा दाजुभाइ हुन्।
नेपालका विभिन्न ठाउँहरूमा घर नम्बर प्रणाली भएता पनि त्यो व्यावहारिक नभएको उनीहरूलाई लागिरहेको थियो। अर्कोतर्फ सबै स्थानीय तहमा एकरूपता र वैज्ञानिक नभएको उनीहरूले अनुभूति गरेका थिए।
रामले उदाहरण दिँदै भने- 'अहिले कसैले दराजबाट सामान ल्याउँदा ठाउँको नाम र घर नम्बर भन्छ। तर त्यो घर नम्बर खोज्न डेलिभरी गर्ने मान्छेलाई हम्मेहम्मे पर्छ। अन्त्यमा उसले सामान दिन सामान लिने मान्छेलाई फोन गर्नैपर्ने बाध्यता हुन्छ। घरसम्म विरलै पुग्न सकिन्छ।'
तर प्रणालीभन्दा भएको प्रणालीलाई व्यवस्थापन मात्रै गरेको उनीहरू बताउँछन्।
२०७७ सालमा हुलाकले सामानहरू पठाउन सहज नभएपछि गुगल प्लस कोड मागेको थियो। तर त्यो व्यवस्थित नहुँदा काम सफल भएन। त्यसैले त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर उनीहरूले पछिल्लो ५ वर्षदेखि डिजिटल ठेगाना प्रणालीका लागि काम गरिरहेका थिए। जसको नामकरण उनीहरूले 'कता हो' भनेर राखेका छन्।
गुगलले दिएको गुगल प्लस कोड सुविधालाई नै उनीहरूले प्रयोग गरी यो प्रणाली विकास गरेका छन्। जसमा क्यूआर पनि राखिएको छ। घरको स्थान गुगल म्यापमा देखाउँछ। त्यति मात्रै होइन, तपाईं घरको नजिकै पुगेपछि क्युआरबाट घरमा आएको जानकारी घण्टी बजाएर घरधनीलाई जानकारी दिन पनि सक्नुहुन्छ। यसका लागि भने तपाईंले 'कता हो' एप डाउनलोड गरेको हुनुपर्छ।
अर्को यसको विशेषता भनेको घरमा आएका पाहुनाले कसलाई खोजेको हो भनेर पनि उनीहरूले भन्न सक्ने राम बताउँछन्।
'जस्तै मेरो घरमा तीन जना सदस्य हुनुहुन्छ,' उनले भने, 'मानौं कोही मान्छे मलाई खोज्न आएको छ भने उसले क्युआर गरेर कसलाई खोजेको हो, उसलाई एपमार्फत बोलाउन सक्छ। त्यसका लागि मानिसको नामको पहिलो मात्र देखाउँछ। अनि त्यहाँबाट उनीहरू कुराकानी गर्न सक्छन्। यसका लागि कता हो एपमा तपाईंले आफ्नो परिवार सदस्यलाई समावेश भने गरेको हुनुपर्छ।'
वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले पुरानो ठेगाना तथा बाटोका नामहरूलाई यथावत् राखी क्युआर कोड र चिप्स सहितको ठेगाना प्लेट जडान गरिएको बताए।
‘विद्युतीय शासनको पहिलो पूर्वाधार भनेकै सेवाग्राहीको घर र ठेगाना प्रणाली हो। यसबाट विद्युतीय नागरिक सहभागिता सुनिश्चित गराउन सकिन्छ,’ उनले भने, ‘यो भनेको शासन प्रणालीमा नागरिकको प्रत्यक्ष सहभागिता हुने अवसर हो। आफू बसेकै ठाउँबाट सेवा प्राप्त अवस्था हो। यो आधारमा टेकेर धेरै काम गर्न सकिन्छ। यो प्रविधि अन्य वडाहरूमा पनि विस्तार हुँदै जानेछ।’
६ हजार ८५० घर संख्या रहेको वडाभित्र यो प्रणाली मंसिरभित्र जडान गरिसक्ने योजना भएको उनले बताए। रन्जना लिपीमा काठमाडौं भनेर ऐँ लेखेको हुँदा थप ढिलाइ भएको उनको भनाइ छ। अहिलेसम्म २५ सय घरधुरीमा उक्त प्रणाली हालिसकिएको उनले बताए। जसको ठेक्का जेबिएस इन्फ्रास्ट्रक्चरले ४५ लाख रुपैयाँमा पाएको छ।
आफ्नो क्युआर सहितको डिजिटल ठेगाना प्रणाली भने निः शुल्क बनाउन सकिने उनले बताए।
त्यसका लागि कता हो एप डाउनलोड गरी फारम भर्नुपर्ने उनको भनाइ छ।
यस्तै, यसमा एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स पनि जडान गरिएको उनले बताए।
एनएफसी ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेट लगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ।
यसमा राखिएको आइडी नम्बर भने कतै दोहोरिँदैन। यो आइडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरी बनाइएको लक्ष्मणले बताए।
'जस्तै कोही बत्तीको मान्छे तपाईंको घरमा गयो र चिप्समा स्क्यान गर्यो भने त्यहाँ उसले यो घर कसको हो, बत्तीको महसुल बुझाएको छ कि छैन, कति बाँकी छ, ग्राहक नम्बर कति हो भनेर हेर्न सक्छ। त्यसका लागि प्राधिकरणले दिएको युजर नाम र पासवर्डको प्रयोग हुन्छ। अन्य व्यक्तिले हेर्न सक्दैन। प्राधिकरणले, टेलिकम र इन्टरनेटको हेर्न सक्दैन।'
उनले थप बुझाए, 'तपाईंले टेलिकमबाट सिम लिनुहुन्छ। त्यो नम्बर बैंक, इसेवा फेसबुक लगायतमा प्रयोग गर्नुहुन्छ। तर कसैले पनि बैंकले त्यो नम्बरको इसेवामा कति पैसा छ हेर्न मिल्दैन। हो त्यस्तै हो यो सिस्टम पनि।'
यसलाई नेपालका हरेक स्थानीय तहसम्म पुर्याउने योजना उनीहरूको छ। जसले गर्दा सबै डिजिटल ठेगाना प्रणालीमा एकरूपता आउने विश्वास छ।
कतिपय पालिकाले व्यक्तिगत विवरणको गोपनीयताको ख्याल नगरी क्युआर स्क्यान गर्दा सबै विवरण उपलब्ध गराउँथ्यो। तर यसमा घरधनीले चाहे मात्र विवरण उपलब्ध गराउन सक्ने पनि उनले बताए।
'यसमा सबै देखिने हुँदैन। नामको पहिलो अक्षर मात्र देखिन्छ,' लक्ष्मणले भने, 'भोलिका दिनमा तपाईंलाई देखाउन मन लाग्यो भने एपमार्फत् सार्वजनिक पनि गर्न सक्नुहुन्छ।'
अहिले ठेगाना प्रणालीलाई डिजिटल लगेता पनि पछि एनएफसी चिप्सबाट धेरै काम गर्न सकिने र त्यसका लागि विभिन्न गृहकार्य भइरहेको उनीहरू बताउँछन्।
-1763108820.jpg)
***