पोखरामा फेरि अर्को सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा प्रहरीले बुधबार ७ जनालाई पक्राउ गरेको छ।
सहकारी रजिष्टारको कार्यालयले गरेको वित्तीय अध्ययन प्रतिवेदनका आधारमा कास्की प्रहरीले सहकारीका सञ्चालक लगायत ७ जनालाई पक्राउ गरेको हो।
पोखरा बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले राखेको बचत हिनामिना अरोपमा प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरूङ, सुपरभाइजर मार्केट प्रमुख बेदीप्रसाद सुवेदी र पूर्वसचिव इन्द्रप्रसाद द्धालाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
डिएसपी बस्नेतका अनुसार सहकारी रजिष्टारको कार्यालयले मंगलबार उक्त सहकारीमा सर्वसाधारणले बचत राखेको ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिना गरेको वित्तीय विश्लेषण प्रतिवेदनसहित कारबाहीका लागि पेस गरेको थियो।
सोही प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको डिएसपी बस्नेतले बताए।
उनीहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप प्रक्रिया अघि बढाइएको छ भने हिनामिनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले बताएको छ।
सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशले उक्त सहकारीका बचतकर्ताले दिएको निवेदनका आधारमा वित्तीय विश्लेषणसहित छानबिन गर्न निर्मल गौतमलाई जिम्मा दिएको थियो। उनले दिएको प्रतिवेदनका आधारमा कारबाही अघि बढेको हो।
वित्तीय विश्लेषण प्रतिवेदनमा बिना धितो कर्जा लगानी, नक्कली खाता खोलेर सहकारीको बचत अपचलन र गैरकानुनी लगानी गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा छानबिन प्रभावित गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृतलाई घुस दिएको, अनुगमनमा आएका मन्त्रालयका शाखा अधिकृत प्रेमराज लुइँटेललाई ५ लाख रुपैयाँ घुस दिएको पनि उल्लेख छ।
पोखराको सिर्जना चोकमा मुख्य कार्यालय राखेर २०५८ सालदेखि सञ्चालनमा आएको उक्त सहकारीले पछिल्लो समय नयाँ बजारमा प्रधान कार्यालय राखेको थियो। सहकारीले अमरसिंह चोक र सिर्जनाचोकमा सेवा केन्द्र सञ्चालन गरेको थियो।
पोखरामा यसअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, प्राइम, बलिदान, मित्रमिलन लगायतका सहकारीबाट पनि बचत दुरूपयोग गरेको अभियोगमा अदालतमा मुद्दा विचाराधीन छ।
उक्त सहकारी संस्थाहरूले गैरकानुनी रूपमा लगानी गरेको, गैरसदस्यलाई ऋण प्रदान गरेको, कानुन विपरीत सञ्चालकहरूले बचत हिनामिना गरेको लगायतका अभियोग लागेको छ।
उनीहरूलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलेको छ।
पोखरा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूलाई पनि सोही प्रकृतिका मुद्दा चलाउन वित्तीय विश्लेषण प्रतिवेदनले सिफारिस गरेको छ।