दाङ, बर्दिया र सुर्खेतबाट प्रहरीले एकैदिन ब्राउन सुगरसहित ६ युवालाई पक्राउ गरेको छ।
दाङ प्रहरीले घोराहीको एक होटलबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कको एक होटलमा लागुऔषध ब्राउन सुगरसहित रूकुम पूर्व भुमे गाउँपालिका–२ का २३ वर्षीय निस्मत गुरूङ पक्राउ परेका हुन्।
पछिल्लो समय गुरूङ तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरमा बस्दै आएका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनको साथबाट १ ग्राम ४५० मिली ग्राम ब्राउन सुगर बरामद भएको छ।
दाङ जिल्ला अदालतले गुरूङलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
त्यस्तै, बर्दियामा रूकुम पश्चिमका दुई युवा ब्राउन सुगरसहित पक्राउ परेका छन्। रूकुम पश्चिमको मुसिकोट नगरपालिका–५ का २३ वर्षीय विकास परियार र मुसिकोट–९ का २३ वर्षीय बिनोद कठायत पक्राउ परेका छन्।
बर्दियाका प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लका अनुसार प्रहरी चौकी महम्मदपुर र सशस्त्र प्रहरी बेस नेपाल (बिओपी) गणेशपुरबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरूलाई चेक गर्ने क्रममा ४ ग्राम ६५० मिली ग्राम ब्राउन सुगर बरामद गरेको हो।
गुलरिया नगरपालिका–११ गणेशपुरबाट उनीहरू पक्राउ परेका थिए।
छिमेकी देश भारतबाट नेपालतर्फ आउँदै गरेको भे ८ प १८७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूमाथि आशंका लागेर चेक गर्ने क्रममा ब्राउन सुगर बरामद भएको डिएसपी मल्लले बताए।
बर्दिया जिल्ला अदालतले उनीहरू दुबै जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको डिएसपी मल्लले बताए।
त्यस्तै, सुर्खेत प्रहरीले १५ ग्राम १० मिली ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउपछि सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ घर भई वडा नं.८ मा बस्ने २८ बर्षीय हिमाल आले, वीरेन्द्रनगर – ४ मूलपानीका २६ वर्षीय सरोज ढकाल र वीरेन्द्रनगर–१ का ४७ वर्षीय प्रेम गुरूङलाई ब्राउन सुगरसहित पक्राउ गरेको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए।
डिएसपी थापाका अनुसार आलेले सञ्चालन गर्दै आएको क्याफे खानतलासी गर्ने क्रममा शौचालयको भेन्टिलेसनमा लुकाइछिपाइ राखेको अवस्थामा ११ ग्राम ४७० मिलीग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको थियो। आलेको बयानका आधारमा ढकाल पक्राउ परेका थिए। उनको साथबाट ३६ मिलीग्राम ब्राउन सुगर बरामद भएको डिएसपी बुढथापाले बताए।
वीरेन्द्रनगर नगरपालिका–८ मा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले यी दुई जनालाई नियन्त्रणमा लिएको थियो।
त्यस्तै, वीरेन्द्रनगर–१ मा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सोही वडाका ४७ वर्षीय गुरूङलाई खानतलासी गर्दा ३ ग्राम १८० मिली ग्राम ब्राउनसुगर बरामद भएको डिएसपी बुढथापाले जानकारी दिएका छन्।
उनीहरूको साथबाट नेपाली दरका विभिन्न नोटहरू एक लाख ७१ हजार तीन सय ३० रुपैयाँ नगद पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला अदालत सुर्खेतले गुरूङलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ।
दाङ, बर्दिया र सुर्खेत प्रहरीले उनीहरू सबैलाई कात्तिक १७ गते विभिन्न समयमा पक्राउ गरेको थियो।