पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमले मोटरसाइकल किनेको छ।
देउसी भैलो कार्यक्रमबाट संकलित २ लाख २१ हजार ५१४ रुपैयाँमा कार्यालयका तर्फबाट केही रकम थप गरेर २ लाख २४ हजार ९७० रुपैयाँमा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए।
उक्त मोटरसाइकल जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले सोमबार वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराइलाई हस्तान्तरण गरेका थिए।
वडा प्रहरी कार्यालय बैदामले कात्तिक ३ गते लक्ष्मीपूजाको दिन कार्यालय परिसरमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो।
उक्त कार्यक्रममा कास्कीका सिडिओ रुद्रादेवी शर्मा, जिल्ला प्रहरी प्रमुख एसपी कार्की, पोखराका व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधीलगायत सहभागी भएका थिए।
देउसी भैलो कार्यक्रममा प्रहरी कर्मचारीले नाचगानसमेत प्रस्तुत गरेका थिए। भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्कीसहित प्रहरी २७ वटा कार्यालय जलाएका थिए।
डिएसपी बस्नेतका अनुसार प्रदर्शनकारीले प्रहरीका मोटरसाइकल र गाडीसमेत जलाएका थिए भने झण्डै २ दर्जन हतियार लुटपाट गरेका थिए। देउसी भैलोबाट संकलित रकमबाट कार्यालय प्रयोजन र शान्ति सुरक्षाका लािग तत्काल खरिद गर्न सकिने भएकाले मोटरसाइकल किनेको डिएसपी बस्नेतले बताए।