६२ वर्षीय लखपति सुनार पेसाले सुन व्यवसायी हुन्। तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय नजिकै उनको सुन चाँदी पसल छ।
गत चैत १ गते कलकत्ता घर बताउने अन्दाजी ७० वर्षीय मुकेश आफ्नी श्रीमती सहित लखपतिको पसलमा आउँछन्। मुकेशले आफूसँग काँचो सुन रहेको कुरा गर्छन्। त्यो केही दिन राखेर धितोमा पैसा निकाल्न चाहेको भन्दै कुनै व्यक्ति वा व्यापारीको सम्पर्कमा पुर्याइदिन आग्रह गर्छन्। त्यसो गरे बापत एक दुई हजार नगद रकम दिने मुकेशले लखपतिलाई बताउँछन्।
त्यसपछि मुकेशले आफूसँग रहेका सुन तथा गरगहना पनि लखपतिलाई देखाउँछन्। लखपतिले तुलसीपुरको वीरेन्द्र चोक नजिकै ‘प्रिन्स मोबाइल पसल’ सञ्चालन गर्दै आएका तिलकलाई आफ्नो पसलमा बोलाउँछन्।
लखपतिका अनुसार तिलकसँग विगत चार वर्षयता कारोबार गर्दै आएका थिए। मोबाइल पसल भए पनि तिलकले सुन धितो राखेर विभिन्न व्यक्तिहरूलाई रकम दिने गरेको लखपति बताउँछन्। त्यसो गरे बापत लखपतिलाई उनका ग्राहकले एक दुई हजार रकम दिन्थे।
लखपतिले मुकेशसँग पनि त्यही सर्त राखे। सुन धितो राखेर रकम दिलाउन सहयोग गरे बापत लखपतिले मुकेशबाट कहिले एक हजार र कहिले दुई हजार पाउँथे। मुकेशले सुरू–सुरूमा थोरै सुन राखेर तिलकबाट रकम झिके। मुकेशले पाँच दिन नपुग्दै लिएको पैसा बुझाएर आफ्नो सुन लैजान्थे।
लखपतिका अनुसार गत वर्ष चैत १ गते मात्रै चिनजान भएका मुकेशका लागि सुरूमा सुन राखेर तिलकबाट एक लाख, दोस्रो पटक दुई लाख ७० हजार, तेस्रो पटक पाँच लाख, चौथो पटक ६ लाख झिकेका थिए। त्यो रकम मुकेशले समयमै इमानदारीपूर्वक बुझाएका थिए। यसै आधारमा मुकेशले लखपति र तिलक दुबैको भरोसा जिते।
पाँचौं पटक चैत १४ गते १० वटा टुक्रा (लकेट) लिएर मुकेश लखपतिको पसलमा आए। त्यो सुन धितो राखेर आठ लाख रकम चाहिएको कुरा गरे। यतिखेर मुकेशले आफूले ल्याएको सुन नौ तोला बढी रहेको दाबी गरेका थिए। लखपति र मुकेश चैत १४ गते साथमै सुन लगेर सँगै तिलकको मोबाइल पसलमा पुगे।
उनीहरूले लगेको नौ तोला सुन बन्धक (धितो) राखेर तिलक आठ लाख रकम मुकेशलाई दिन राजी भए। मुकेशले त्यो सुन कलकत्ता क्षेत्रका सुन पसलबाट खरिद गरेको भन्ने कागज (नक्कलीबिल) पनि साथमै ल्याएका थिए।
मोबाइल पसल सञ्चालक तिलक व्यवहारमा चलाख थिए। उनले कहिल्यै भारतीय नागरिकको नाममा चेक काटेर दिन मानेनन्। जहिल्यै सुन बन्धक (धितो) राखेर लखपतिकै नाममा चेक काटेर दिन्थे। त्यो चेक साटेर लखपति पैसा मुकेशलाई दिन्थे। मुकेशले अड्कलेर लखपतिलाई एक/दुई हजार थमाइदिन्थे।
पछिल्लो समय चैत १४ गते पनि तिलक सिटीजन्स बैंकको चेक मार्फत् लखपतिलाई नौ तोला भनिएको सुन धितो राखेपछि आठ लाख रुपैयाँ भुक्तानी दिएका थिए। तर, यतिखेर मुकेशले दुबैलाई झुक्याउन सफल भए। मुकेश पहिले जस्तै गरी पाँच दिन नपुग्दै धितो फुकुवा गर्न आएनन्। ब्याज बुझाउन गएनन्। बरू सम्पर्कविहीन भए।
मुकेश वैशाख पहिलो हप्तादेखि सम्पर्कविहीन भएपछि तिलक र लखपतिले आपसमा सल्लाह गरी धितो राखेको सुन बेचेर भए पनि रकम असुल उपर गर्ने सोच बनाए। त्यो बेच्दा उतिखेरको बजार मूल्य अनुसार कम्तीमा १२ लाख जति रकम पुग्थ्यो। तिलक र लखपति मिलेर सुन भनिएका मुकेशले धितो राखेका दश वटा लकेटका टुक्रा बोकेर अर्को सुन पसल (जहाँ सुन चेकजाँच गर्ने मेसिन थियो) पुगे।
मेसिनमा चेक गर्दा ती लकेटहरूमा बाहिर मात्रै सुनको रोगन रहेको र भित्र जम्मै चाँदी रहेको तथ्य फेला पर्यो। त्यसपछि बल्ल तिलक र लखपतिले आफू ठगिएको भेउ पाए।
‘मेसिनमा चेक गराउँदा बाहिर मात्रै सुनको रोगन थियो भने भित्र जम्मै चाँदी मात्रै थियो,’ लखपतिले भने, ‘दश वटा लकेटमा बाहिर पोतिएको सुन पगाल्दा जम्मा दुई लाख जति मूल्यको मात्रै सुन रहेको पाइयो त्यसभित्र जम्मै चाँदी मात्रै फेला परेको थियो।’
त्यसपछि तिलकले लखपतिसँग 'आठ लाख तिम्ले तिर्नुपर्छ' भनेर ताकेता गर्न थाले। लखपतिले आठ लाख रुपैयाँ बराबरको चेक दिए। तर चेक बाउन्स भयो।
त्यसपछि तिलकले भदौ १७ गते लखपति विरूद्ध इलाका प्रशासन कार्यालय तुलसीपुरमा चेक बाउन्स सम्बन्धी निवेदन लिएर गएका थिए। त्यो निवेदन प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय तुलसीपुरमा पठाइदिएको थियो।
इप्रका तुलसीपुको मुद्दा फाँटमा कार्यरत विनोदराज खत्रीका अनुसार निवेदनका आधारमा छलफल गराउने उद्देश्यले प्रहरी लखपतिलाई खोज्दै पसलमा पुग्दा फेला पर्न सकेका थिएनन्। त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले चेक बाउन्स सम्बन्धी मुद्दा चलाउनका लागि बैंकबाट आवश्यक कागजात नपुगेको हुँदा त्यो लिएर मात्रै आउन तिलकलाई भनेको थियो।
लगतै भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण मुलुकको शासन सत्ता उथलपुथल हुन पुग्यो। यो विषय त्यसै ओझेल पर्यो।
यस बीचमा फेरि मेलमिलाप गर्ने उद्देश्यसहित तिलक र लखपति दुबै जना तुलसीपुर उद्योग वाणिज्य संघमा पुगे।
वाणिज्य संघका उपाध्यक्ष देवबहादुर केसीको रोहवरमा छलफल भयो।
एक चरणमा दुबै पक्षका बीचमा छलफल भए पनि सहमति कायम हुन नसकेको उपाध्यक्ष केसीले बताए।
‘छलफलका क्रममा दुनियाँथरीको लफडामा पर्नु भन्दा लखपतिले आफूले दुई लाखसम्म ऋण खोजेर भए पनि तिलकलाई दिन तयार छु भन्नु भएको थियो,’ उपाध्यक्ष केसीले भने, ‘तर, तिलकले उहाँको कुरा मान्नु भएन। आफूले चेक काटेर दिएको पूरै आठ लाख लखपतिले नै दिनुपर्ने अडान लिँदै आउनुभएको छ।’
दुबैबाट केही न केही गल्ती भएको हुँदा दुबैले घाटा नाफा सहनुपर्ने लखपतिको तर्क छ।
तिलक भने आफूले आठ लाखको चेक काटेर लखपतिलाई भुक्तानी दिएको हुँदा सबै पैसा उनीबाट नै असुल उपर हुनुपर्ने अडान लिँदै आएका छन्।
‘मलाई अरू थाहा छैन, म अदालत जान्छु,’ तिलकले भने, ‘अदालतले जे निर्णय गर्छ म त्यो मान्न तयार छु।’