अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ।
सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।
अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा थियो।
अफगान अधिकारीका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा चार जनाको मृत्यु भएको छ।
बाल्खका गर्भनरका प्रवक्ता हाजी ज़ैदले भने, 'हामीले ठूलो आर्थिक र जनधनको क्षति भोगेका छौं। धेरै मानिस घाइते भएका छन्, र हालसम्म चार जनाको मृत्यु पुष्टि भएको छ।'
अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'देशका धेरै प्रान्तहरू फेरि एक पटक शक्तिशाली भूकम्पबाट हल्लिएका छन्।'
भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
मजार–ए–शरीफको ऐतिहासिक ब्लू मस्जिदमा समेत ठूलो क्षति पुगेको बताइएको छ।
सामाजिक सञ्जालमा आएका भिडियोहरूमा मस्जिदको आँगनमा ढुंगामाटो र भग्नावशेषहरू देखिएका छन्।
उक्त स्थललाई इस्लामका चौथो खलिफा र पैगम्बर मोहम्मदका ज्वाइँ हजरत अलीको समाधिस्थल मानिन्छ।
युएसजिएसले आर्थिक र मानवीय क्षतिको उच्च सम्भावना जनाउँदै 'ओरेन्ज अलर्ट' जारी गरेको छ। उक्त चेतावनीमा भनिएको छ, 'जनधनको ठूलो क्षति हुने सम्भावना छ।'
मजार–ए–शरीफकी पूर्व शिक्षिका रहेकी रहिमाले भूकम्प आएपछि आफूहरू आँत्तिदै घरबाट तल झरेको बताएकी छन्।
'भूकम्प आउँदा मेरा छोराछोरी डराएर कराउँदै तल झरे। मैले यति शक्तिशाली कम्पन पहिले कहिल्यै महसुस गरेकी थिइनँ,' उनले अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँग भनेकी छन्।
गत अगस्ट महिनामा पनि अफगानिस्तानको पूर्वी भागमा ६ म्याग्निच्युडको भूकम्पले कम्तीमा २ हजार २०० जनाको मृत्यु र हजारौंको घाइते भएका थिए।
त्यस्तै, २०२३ अक्टोबरमा पश्चिमी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको अर्को भूकम्पमा २,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।
गएरातिको ६.३ म्याग्निच्युडको भूकम्प गएपछि कम्तिमा पाँचवटा पराकम्प आएका छन्। जसमा सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको रहेको सिएनएनले जनाएको छ।