काठमाडौंको थानकोटस्थित नेपाल आयल निगमको डिपोमा ल्याउनुपर्ने पेट्रोल बीचबाटोमै चोरेको आरोपमा चार जना पक्राउ परेका छन्।
मकवानपुरको मनहरी गाउँपालिका-८ मा रहेको जय शिव शरणम फ्यूल प्रालीमा अवैध रूपमा पेट्रोल झिकेको आरोपमा चार जनालाई पक्राउ गरेको डिएसपी पुष्कर बोगटीले जानकारी दिए।
ना.४.ख ९३७७ नंको ट्यांकरमा अम्लेखगंजबाट पेट्रोल लोड गरी काठमाडौंका लागि ल्याइएको थियो। तर उक्त पेट्रोल ट्यांकरबाट बीचबाटैमा झिकेर चोरी गरेको आरोप लागेको हो।
यसरी चोरी गरेको खुलेसँगै प्रहरीले ट्याकर चालक र पम्पमा कार्यरत कर्मचारीसहित चार जनालाई पक्राउ गरेको हो।
चारै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।