नेपाल जेनजी फ्रन्टले निर्वाचनलाई लक्षित गर्दै मतदाता सचेतना अभियान सुरू गरेको छ।
आइतबार बिहान रक्षा बम संयोजक रहेको जेनजी फ्रन्टका सदस्यहरू काठमाडौंका विभिन्न स्थानमा पुगेर मतदाता सचेतना र मतदाता नामावलीमा दर्ता गर्न अनुरोध गर्दै अभियान चलाएको हो।
फ्रन्टका सदस्यहरू अमृता बन, ऋषि थापाको नेतृत्वमा, फरीद अली लगायत अभियन्ताहरू कोटेश्वर क्षेत्रमा पुगेका थिए।
अभियान अन्तर्गत टोलीले घरदैलो कार्यक्रम सञ्चालन गर्दै नागरिकहरूलाई मतदाता परिचयपत्र अनलाइनबाट समेत बनाउन सकिने प्रक्रियाबारे जानकारी गराएको छ।
साथै कात्तिक ३० भित्र दर्ता गर्न आग्रह गरिएको छ।
‘हामीले धेरै जिम्मेवार नागरिक भेट्यौं, तर धेरैलाई अझै अनलाइन दर्ता प्रक्रिया थाहा थिएन। त्यसैले हामीले घरमै गएर जानकारी दिने निर्णय गर्यौं,’ कार्यक्रम संयोजक अमृता बनले बताइन्।
उनले यो महिनाभरी अभियान सञ्चालन गर्ने बताइन्।
गत शुक्रबार जेनजी आन्दोलनकी प्रतिनिधि रक्षा बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्टको घोषणा भएको थियो। ३८ सदस्य रहेको फ्रन्टमा देशका विभिन्न ठाउँमा रहेका युवाहरू समेटिएको बताइएको छ।