महाराजगन्ज प्रहरी वृत्तका दुई जना प्रहरीको हत्या आरोपमा थप पाँच जना पक्राउ परेका छन्।
जेनजी पुस्ताको आन्दोलन क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले महाराजगन्ज वृत्तमा तोडफोड र आगजनी तथा असई मिलन राय र जवान उत्तम थापाको हत्यासमेत भएको थियो।
दुई प्रहरीको हत्या आरोपमा थप पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय किशोर र रामेछापका १६ वर्षीय किशोर छन् ।
उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको उनले एसपी भट्टराईले जानकारी दिए।
सोही प्रकरणमा यसअघि नै पक्राउ परेका सिन्धुपाल्चोकका ६२ वर्षीय होमप्रसाद पौडेल, उदयपुरका २८ वर्षीय टीकाराम विक, काभ्रेका २८ वर्षीय युवराज क्याप्छाकी, मकवानपुरका २१ वर्षीय बुद्धिलाल तामाङ पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।
जेनजी प्रदर्शन क्रममा महाराजगन्जमा दुई जना र कोटेश्वर वृत्तमा एक प्रहरीको हत्या भएको थियो।