काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेनजी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले लगेको सामानहरू फिर्ता ल्याइदिन आग्रह गरिरहेको छ।
भदौ २४ गते भएको प्रर्दशनीका क्रममा काठमाडौं उपत्यकाका विभिन्न ट्राफिक कार्यालयका अत्यावश्यक सामग्रीहरू कतिपय जलेका थिए भने कतिपय लुटिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै पनि ल्यापटप, गोप्रो क्यामेरा, ड्रोन, बडी वर्न क्यामेरा, मोबाइल, ब्रेथलाइजर, लिडार गन लगायतका सामानहरू लगेको ट्राफिक प्रहरीको अनुमान छ।
'ती सामानहरू अहिलेसम्म भेटिएका छैनन्। फिर्ता दिँदा कारबाहीमा पर्ने डरले नल्याएको हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयको एसपी नरेशराज सुवेदीले जानकारी दिए।
'जले भनेका मोटरसाइकलहरू सडकमा देखिएका छन्, त्यसैले ट्राफिक प्रहरीको सामाग्रीहरू पनि लगेका छन् कि भन्ने लागेको हो,' उनले भने,'ट्राफिक प्रहरीको सामान फिर्ता ल्याइदिनुहोस्, हामी कारबाही गर्दैनौं।'
उनका अनुसार कतिपयले सामान ल्याइदिँदा कारबाही परिन्छ कि भन्ने डरले नल्याएको भए प्रहरीले कारबाही नगर्ने बताएका छन्।
'बडीवर्न क्यामेरा, लिडार गनहरू एकदमै महँगो हुने र सर्वसाधारणका लागि उपयोगी पनि हुँदैन,' उनले भने।
ती सामान ल्याएर सम्मानका साथ प्रहरीलाई बुझाउन सकिने एसपी सुवेदीले जानकारी दिए।