हैजा महामारी प्रतिकारका लागि पर्सामा आइतबारदेखि खोप अभियान सुरु भएको छ।
२८ असोजदेखि बारामा पनि खोप अभियान सञ्चालन गरिँदैछ।
हैजाबाट बढी प्रभावित वीरगञ्ज महानगरपालिका सहित पर्सा र बाराका २० पालिकामा प्रतिकार खोप अभियान सञ्चालन गर्न लागिएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई पहिलो खोप खुवाएर अभियानको थालनी गरिएको हो।
पर्साको १४ वटै पालिका र बाराको जितपुरसिमरा र कलैया उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ।
पर्सामा १ लाख १६ हजार १ सय १८ घरधुरीका ६ लाख ५२ हजार १ सय २९ लक्षित जनसंख्यालाई खोप खुवाउने लक्ष्य राखिएको छ।
त्यसका लागि ११७ स्वास्थ्य संस्था सहित १ हजार ९ सय ५१ खोप केन्द्र तय गरिएको छ। हरेक घरमा स्वयंसेवक पुगेर खोप खुवाउने कार्यक्रम छ।
स्वास्थ्य कार्यालय पर्साले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार हालसम्म १ हजार ६ सय ८० जनामा हैजा तथा झाडापखालाका विरामी भेटिएका छन्।
आरडिटी परीक्षणबाट हैजा संक्रमण पुष्टि भएका तीन जनामा गम्भीर संक्रमण हुँदा किड्नी डायलाइसिस गर्नुपर्ने भएको छ। ६ भदौमा पहिलो पटक वीरगञ्जको मुर्लीटोलका एकजना विरामीमा आरडिटी परीक्षणबाट हैजा संक्रमण पुष्टि भएको थियो।
खोप फोकल पर्सन जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बाढी प्रभावित वीरगञ्जका विभिन्न क्षेत्रमा पानी परीक्षण गर्दा झाडापखाला गराउने इ.कोली नामक जीवाणु भेटिएको बताए।
‘पानीको स्रोतमा देखिँदैन, घरसम्म पुगेको पानीमा जीवाणु भेटिन्छ,’ उनले भने।
अभियानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफ, रेडक्रस लगायतको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (आइसिजी) ले मुखबाट लिने हैजा विरुद्धको ‘ओरल कोलेरा भ्याक्सिन’ (ओसीभी) उपलब्ध गराएको छ।
बारा–पर्साका लागि १० लाख १८ हजार १ सय डोज इयूभिकोल–एस भ्याक्सिन आएको छ।
“एक वर्ष उमेर माथिका” १० लाख १८ हजार जनालाई खोप खुवाउने लक्ष्य राखिएको छ।
मुखबाट खुवाइने यो खोप तयारी झोलको रूपमा प्लास्टिकको ट्यूबमा उपलब्ध छ।
एक जनाले एक डोज खोप दिइनेछ।
दिपावलीको विदा सुरु हुनु अघि कात्तिक २ गतेसम्म अभियान सञ्चालन हुनेछ।
खोप अभियान सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतम सहित विश्व स्वास्थ्य संगठन र युनिसेफको टोली पर्सामा पुगेका छन्।
डा. गौतमले हैजा विरुद्ध खोप लिन पाउनु एउटा अवसर भएकोले सबैले खोप लिनुपर्ने बताएका छन्।
‘यसरी खोप लगाउन पाउनु मौका हो, किनकि कुनै पनि राष्ट्रमा यसरी हैजाको महामारी हुँदा खोप समयमै आइपुग्दैन, कतिको मृत्यु हुन्छ, तैपनि खोप पाउँदैन,’ उनले भने, ‘हैजाबाट हुने मृत्युलाई, संक्रमण फैलने दर र अर्को वर्ष आउन सक्ने महामारी समेतलाई रोक्न खोप प्रभावकारी हुन्छ।’
किनेर सहजै नपाउने खोप नेपाल सरकारले निःशुल्क उपलब्ध गराउन लागेको उनले बताए।
डा. गौतमका अनुसार खोपले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्ने र रगतको नलीमा लामो समयसम्म मेमोरी सेलको रूपमा रहेर काम गर्छ।
हैजा विरुद्धको खोपले ६ महिनासम्म हैजा लाग्न नदिने र पछिसम्म काम गर्ने गरी प्रतिरोधी क्षमताको विकास गर्ने उनको भनाइ छ।
तर खोप अन्तिम विकल्प भएको उनी बताउँछन्।
‘सरसफाइ सम्बन्धी व्यवहार परिवर्तन सधैंका लागि हैजा विरुद्धको हतियार हो। पानी उमालेर वा क्लोरिन हालेर पिउने, बासी सडेगलेका फोहोर खाना नखाने, तरकारीहरू राम्ररी धोएर पकाएर खाने गर्दा हैजा लाग्दैन,’ उनले भने, ‘खोप अन्तिम विकल्प हो। खोप लगाउनुपर्ने अवस्था आउनै दिनु हुँदैन।’
खोप उच्च ज्वरो आएका व्यक्ति, संक्रमणको उपचार गराइरहेका व्यक्ति बाहेक सबैले सेवन गर्न मिल्छ।
मधुमेह, रक्तचापका औषधि सेवन गरिरहेका विरामी, गर्भवती तथा सुत्केरीले समेत खोप लिन मिल्ने डा. गौतमको भनाइ छ।