कैलालीको घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको हत्यामा संलग्न रहेका १८ वर्षीय बलबहादुर विक ज्यान मुद्दामै २ वर्ष जेल बसेर आएको खुलेको छ।
बलबहादुरले घोडाघोडी–८ कै १९ वर्षीय गंगा बुढा क्षेत्रीसँग मिलेर शुक्रबार राति केशरबहादुरको हत्या गरेका थिए।
सँगै मदिरा पिएका उनीहरुबीच विवाद भएको थियो। बलबहादुर र गंगाले केशरबहादुरलाई सुरूमा कुटपिट र पछि हँसियाले घाँटी रेटेर हत्या गरेका थिए।
हत्यापश्चात काटिएको टाउको बोकेर उनीहरु मध्यरातमा इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए।
प्रारम्भिक अनुसन्धान क्रममा बलबहादुर यसअघि पनि ज्यान मुद्दामै २ वर्ष जेल बसेर आएको खुलेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेशदत्त अवस्थीले जानकारी दिए।
डिएसपी अवस्थीका अनुसार बलबहादुर भारतमा एक जनामाथि ज्यान मार्ने कसुरमा दोषी ठहर भई दुई वर्ष जेल सजाय काटेर फर्किएका थिए।
सोही मुद्दामा बलबहादुर भारतीय जेलमा दुई वर्ष सजाय भुक्तान गरी फर्किएको कुरा अनुसन्धानबाट खुलेको डिएसपी अवस्थीले बताए।
हत्यामै संलग्न भएका १९ वर्षीय गंगा बुढा केशरबहादुरकै १३ दिने खलकका दाजुभाइ रहेको पनि खुलेको छ।
केशरबहादुरको हत्यापश्चात उनको परिवार र गंगाको परिवारबीच भेट भएर कुराकानी हुँदा उनीहरू एउटै खलकको दाजुभाइ रहेको खुलेको थियो।
केशर डेढ वर्ष पहिले मात्रै सुर्खेतबाट घोडाघोडीमा बसाइँ सरेर आएका थिए।
तर, गंगाको घरपरिवार भने धेरै वर्षअघि नै पहाडबाट झरेर घोडाघोडी बस्न थालेका थिए। त्यसैले केशर र गंगाबीच आपसी चिनजान तथा परिचय नभएको प्रहरीले जनाएको छ।
केशरको हत्यापछि सुर्खेतस्थित घरबाट उनकी श्रीमती तथा परिवारका सदस्य शनिबार मात्रै कैलाली पुगेका थिए।
‘एउटै खलकका नजिकका नातेदार भए पनि धेरै वर्षअघि पहाडबाट कैलाली झरेका र डेढ वर्ष पहिले मात्रै कैलाली आएकाले उनीहरूबीच चिनजान नभएको रहेछ,' डिएसपी अवस्थीले भने, ‘उनीहरूबीच पहिल्यै चिनजान भएको भए सायद यस्तो दुःखद घटना हुने थिएन भनेर आफन्तहरूले कुरा गरिरहेको सुनियो।’
गंगा पनि असोज १४ गते मात्रै भारतबाट फर्किएका थिए। उनी पनि भारत आउजाउ गरिराख्छ। रोजगारीकै सिलसिलामा भारतमा बस्ने केशर दसैंको समयमा मात्रै घर फर्किएका थिए। त्यसैले पहाडमा हुँदा एकै घरपरिवारका सदस्य पर्ने उनीहरू कैलालीमा पनि एउटै ठाउँमा बस्दै आए पनि आपसी चिनजान वा परिचय नभएको बताइएको छ।
अर्का हत्या आरोपी बलबहादुर पनि रोजगारीको खोजीमा भारत आउजाउ गर्ने व्यक्ति हुन्। पछिल्लो समय उनी पनि केही दिनअघि मात्रै भारतबाट घर फर्किएको प्रहरीले जनाएको छ।
डिएसपी अवस्थीका अनुसार शुक्रबार राति बलबहादुर र गंगा दसैं मनाउन भनेर स्थानीय होटलमा छिरेका थिए। केशर पनि त्यही होटलमा थिए । मदिरा सेवन गर्ने क्रममा उनीहरूबीच सामान्य कुरालाई लिएर विवाद सुरु भएको थियो।
मदिरा सेवनकै क्रममा वादविवाद भएपछि बलबहादुर र गंगाले मिलेर केशरमाथि कुटपिट गर्न थालेका थिए।
उनीहरूले कुट्दै केशरलाई नालीतिर पुर्याएका थिए। डिएसपी अवस्थीका अनुसार केशरलाई नालीमा पुर्याएपछि बलबहादुर दौडिएर नजिकै रहेको आफ्नै घरमा गएर हँसिया लिएर आएका थिए।
त्यसपछि उनीहरू दुबै मिलेर केशरको घाँटी रेटेर शरीरदेखि टाउको अलग पारेका थिए। घटनाबारे प्रहरीलाई राति पौने १२ बजेतिर मात्रै स्थानीयले सूचना दिएका थिए।
मध्यरातमा नालीमा लडेका केशरको शरीरदेखि टाउको अलग गरेपछि बलबहादुर र गंगा टाउको र हँसिया बोकेर बलबहादुरको दिदीको घरमा पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सुखडस्थित प्रतिखेत प्रहरी चौकी बलबहादुरको दिदीको घरकै बाटोमा पर्छ।
डिएसपी अवस्थीका अनुसार केशरको टाउको बोकेर प्रतिखेत प्रहरी चौकी जाँदै गरेका उनीहरू त्यसैले दिदीको घरमा पसेका थिए। तर, उनीहरूले छिनालेर लगेको टाउको र हँसिया भने दिदीलाई देखाएनन्, बाहिरै लुकाएका थिए।
उनीहरूले रक्ताम्मे हात देखाउँदै दिदीलाई आफूहरूको झगडा तथा लडाइँ भएको हुँदा प्रहरीकहाँ जान लागेको बताएका थिए। बलबहादुरले घरमा आमालाई खबर गरिदिन पनि दिदीलाई आग्रह गरेका थिए। त्यसपछि उनीहरू त्यहाँबाट निस्किएका थिए।
त्यो बीचमा बलबहादुर र गंगाले हँसिया र केशरको टाउको आलोपालो बोकेर मध्यरातमै सुखडस्थित प्रतिखेत प्रहरी चौकीमा पुगेका थिए। केशरको हत्या पछि छिनालेको टाउको उनीहरूले आफैंले आलोपालो बोकेर झन्डै एक घण्टा पैदल हिंडेर प्रतिखेत प्रहरी चौकी पुगेका थिए।
डिएसपी अवस्थीका अनुसार प्रतिखेत प्रहरी चौकी घटनास्थलदेखि झन्डै ६ किलोमिटर टाढा पर्छ।
उनीहरू राति जंगलको छोटो बाटो हुँदै सुखडस्थित प्रतिखेत प्रहरी चौकी पुगेका थिए। हत्या गरिएका केशरका घरपरिवारले आइतबार प्रहरीमा किटानी जाहेरी दिंदै छन्। आइतबार नै उनको शवको पोष्टमर्टमको तयारी गरिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।