झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिर नजिक आइतबार बिहान बेवारिसे अवस्थामा एउटा ३०३ मार्क राइफल फेला परेको छ।
बिहान करिब साढे ७ बजे स्थानीय बासिन्दाले मन्दिरको पूर्वपट्टी रहेको गेट नजिक बन्दुक देखिएको जानकारी इलाका प्रहरी कार्यालय (इप्रका) दमकमा गराएका थिए। सूचना प्राप्तलगत्तै प्रहरी नायब निरीक्षक नबिन राईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले उक्त हतियार जाँच गर्दा गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा इप्रका दमकबाट लुटिएको .३०३ मार्क–३ राइफल भएको पुष्टि भएको छ। म्यागजिनसहित बरामद गरिएको उक्त हतियारलाई प्रहरीले फिर्ता लिएर इप्रका दमकमा सुरक्षित राखेको जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।