धेरै भयो थाइल्यान्ड आउजाउ गर्ने विमान नेपाली पर्यटकले भरिन थालेका। अझ चाडवाडका बेला नेपालमा सस्तोमा बेचिने 'प्याकेज टुर' मा थाइल्यान्ड आउनेको भिड बाक्लो हुने नै भयो।
हामी सवार नेपाल एयरलाइन्सको वाइडबडी विमानको पछाडिको भाग नेवार भाषा बोल्ने नेपालीले यति खचाखच थियो कि, एक ठिटा आफ्ना साथीसँग ठट्यौलो पारामा भन्दै थिए — होइन गुच्चाटोल र मंगलबजारका घर लगभग पूरै खाली छन् कि क्या हो?
दैनिक कम्तीमा पाँच वटा वायुसेवाले बैंकक–काठमाडौं उडान भर्छन्। मौका छोपेर एकाध विमान बेलाबखत लुम्बिनी पनि उडिदिन्छन्। त्यसैले यो चाडवाडको मौसममा बैंककका सडकमा नेपाली परिवारदेखि युवाहरू भेटिनु अनौठो हुने भएन।
बैंकक वा फुकेटका राता बत्ती बल्ने क्षेत्रको विषय भने यहाँ कोट्याउँदिनँ। त्यसलाई पर्दापछाडि नै छोपिदिऊँ। किनभने, थाइल्यान्ड यौन पर्यटनका लागि विश्वभर चर्चित छ।
मध्य बैंककको सुखुम्वित वा खाओ सान रोडको भिडमा हजारौं नेपाली भाषी थाई वा बर्मेली (म्यानमारी) नेपाली पनि भेटिन्छन्।
गत शनिबार नेपालमा भिषण वर्षा भएकै दिन थाइल्यान्डको बैंकक र अन्य प्रदेशमा त्यस्तै ठूलो पानी पर्यो। त्यसले नेपालमा जस्तै मानवीय क्षति पनि गरिदियो। २२ जनाको ज्यान गयो भने १९ प्रदेशमा झन्डै चार लाख मानिस बाढीपहिरोले प्रभावित भए।
त्यही दिन राजधानी बैंकक नजिकै समुद्रमा मिसिने चाओ फ्राया नदी किनारमा रहेको प्रख्यात वाट अरूण मन्दिरमा थाई पहिरनमा घुम्ने रमितेको भिडमा नेपाली जोडीहरू पनि भेटिए। त्यहीँ भेटिए थाई शाही पहिरन पहिरिएर रमाइलो गर्ने देशीविदेशी रमितेको फोटो खिचेर गुजारा चलाउने फोटोग्राफर नाइन।
नाइनले मलाई कुन देशबाट आएको भनेर सोधेपछि मैले सदाझैं गर्वसाथ भनेँ — नेपालबाट।
नेपाल शब्द उच्चारण गर्दा नै मुख खुलेर मेरो दन्तलहर देखिने भइहाल्यो।
मुस्कुराउँदै उनले प्रतिक्रिया दिइहाले अंग्रजीमा — वाऊ!
त्यसपछि नाइन नेपालबाट आएकी एक नेपाली पर्यटक (थाई पहिरनमा सजिएकी मेरी श्रीमती निकिता) को फोटो खिच्न व्यस्त भइहाले।
करिब पाँच सय वर्ष पुरानो भव्य अरूण वाट (मन्दिर) खमेर शैलीमा बनाइएको छ। यहाँ बुद्ध, गणेश लगायत विभिन्न देवताका मूर्ति देख्न सकिन्छ। मन्दिर प्रांगणमा सुनौला छाना भएका थाई शैलीका स–साना मन्दिर पनि छन्। झरीमा रूझ्दै मन्दिर घुमेर फर्किएपछि नाइद्द नेपालबारे निकै जिज्ञासु भए।
ओढिरहेको छातामुनि घामपानी छेक्ने छाता जस्तै ह्याट पनि लगाएका नाइनले मोटो चस्माभित्रको आँखाले मलाई हेर्दै अघि हामीलाई भेटेदेखि गुम्स्याएर राखेको प्रश्न तेर्साइहाले — नेपालको अवस्था अहिले कस्तो छ? अस्ति म घर गएर टेलिभिजन हेर्दा नेपालको आगजनी र ध्वंश देखेर म त छक्कै परेँ। धेरै दुःखी भएँ।
मैले जबर्जस्त जबाफ दिएँ — अहिले अवस्था शान्त छ। अब बिस्तारै सब ठीक हुँदै जान्छ।
थाइ फोटोग्राफर नाइनसामु म नेपालबारे म जबर्जस्त आशावादी भइदिएँ। ठीक त्यसैगरी, जसरी २०६२–२०६३ को जनआन्दोलनका बेला, वा त्यसअघिको दस वर्षे नेपाली रक्तपातको बेला, देश वा विदेशमा भेटिने भारतीय, अंग्रेज, अमेरिकी, युरोपेली वा एसियालीलाई आफ्नो मातृभूमिबारे जबर्जस्त आशावादी हुँदै आश्वस्त पार्ने गरी जबाफ दिन्थेँ।
बैंककका पर्यटकका फोटो खिचेर गुजारा चलाउने नाइन करिक ४५ वर्षका पुरूष हुन्। उनले दिनदिनै जसो नेपाली र थुप्रै अन्य देशका पर्यटक खासगरी अरूण मन्दिर आएर थाई पहिरनमा रमाउने महिला वा जोडीको फोटो खिच्छन्।
उनलाई राम्ररी थाहा छ, नेपाल थाइल्यान्डबाट धेरै टाढा छैन। नेपालमा धेरै मान्छे थाई जस्तै देखिन्छन्। छिमेकी बर्मा (म्यानमार) मा पनि धेरै नेपालीभाषी बस्छन् जो द्वन्द्व र तनावका कारण हिजोआज थाइल्यान्ड हान्निएका छन्।
नाइनलाई यो पनि थाहा छ, थाई आराध्यदेव गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा छ।
नाइनले मौका मिलेमा तीर्थाटन र पर्यटनका लागि नेपाल आउने चाहना रहेको बताए।
यो सुनेपछि मैले फेरि भनिदिएँ — नेपालमा अस्ति दुई दिन धेरै तनाव भयो, त्यसपछि त शान्त भइसक्यो। घुमफिर गर्न कुनै समस्या छैन अहिले।'
अरूण वाटमा भेटिएका नाइनलाई जस्तै, गत भदौ २३ र २४ को तनावका बेला मैले एक पूर्ण स्वतन्त्र पत्रकारका रूपमा नेपालबारे सोधिखोजी गर्ने संसारभरिका मिडिया र मित्रहरूलाई जे जे भयो, त्यही भनिदिएँ। जे जे देखेँ, त्यही भनिदिएँ।
हुन पनि भदौ २३ मा १९ जना नेपाली युवाको ज्यान गएको भोलिपल्ट, भदौ २४ मा नेपालका महत्त्वपूर्ण सरकारी संरचना, निजी व्यवसाय र सम्पत्ति जल्दा र क्षति हुँदा पूरै विश्वको ध्यान नेपालतर्फ तानियो। ध्यान त्यसैगरी तानियो जसरी — राजा वीरेन्द्र र उनको परिवारसहित धेरै जनाको ज्यान जानेगरी दरबार हत्याकान्ड भएका बेला थियो! वा, राजा ज्ञानेन्द्र शाहलाई जनता जनार्दन सामु घुँडा टेक्न बाध्य बनाउने २०६२–६३ को जनआन्दोलन हुँदाका बेला थियो।
त्यसैले बंगालको खाडीपारिकै छरछिमेकी देश थाइल्यान्डका जनताको ध्यान नतानिने कुरै भएन।
आखिर थाइल्यान्ड नेपालबाट कति नै टाढा छ र? हिजोआज भारतको पूर्णिया माथिबाट बंगलादेशको ढाका, चिट्टगोङ र बर्माको रंगुनको आकाशे बाटोबाट बैंकक २२ सय किलोमिटर टाढा पर्छ। यो दुरी पूरा गर्न तीन घन्टा लाग्छ। सडकको बाटो काकडभिट्टाबाट पूर्व गुडेर करिब ३ हजार किलोमिटर टाढा बर्मापारप थाई सीमा छुन सकिन्छ।
यो आलेख म थाइल्यान्डको 'को समुई' टापूमा बसेर लेख्दैछु।
बैंककको अरूण वाटमा भेटिएका नाइनलाई जस्तै म यो यात्रा क्रममा भेटिएका नेपाललाई माया गर्ने अरू थाई वा म्याममारी गोर्खाली वा अन्य विदेशीलाई नेपालको सुरक्षा अवस्थाबारे निश्चिन्त हुन आग्रह गरिरहेको छु।
आखिर जेनजी (सन् १९९७ देखि सन् २०१२ बीच जन्मिएका) ले छेडेको भदौ २३ को आन्दोलनपछि नेपाल चुनावको बाटोमा गइसकेको छ। चुनावको मिति समेत घोषणा भइसकेको छ। नेपालका थुप्रै सरकारी तथा निजी सम्पत्ति जलेर ध्वस्त भए पनि नवनिर्माणको काम, कम्तीमा निजी क्षेत्रका पीडितहरूले धूलो र खरानी सफा गर्दै थालिसकेका छन्।
गत शनिबार थाइल्यान्डमा भएकव भिषण वर्षा रोकिएपछि अर्को दिन आकाश खुल्यो र घाम लाग्यो।
साँझपख म लखर लखर हिँड्दै बैंककको छातीमाथि कोरिएको 'शुखुम्भित सडक' किनारै किनारका झिलिमिली हेर्दै जाँदा एउटा भव्य पार्कभित्र पुगेछु। यो मैले पहिले देखेको लुम्फिनी (लुम्बिनी) पार्क होइन रहेछ।
बैंककको मध्य भागमा रहेको बेन्जाकिटी पार्कबाट रानी सुरिकिती सम्मेलन केन्द्रमा जान बाटो काट्ने जिब्राक्रस नजिकै फोटो खिच्दै थाई युवाहरू। यो पोखरी थाई रानीको जन्मोत्सवका बेला बनाइएको हो। तस्बिरः सुरेन्द्र फुयाल
बीचमा विशाल तलाउ र वरिपरि वन र फूलबारी तथा हिँडडुल गर्ने भागले घेरिएको यो त बेन्जाकिटी पार्क पो रहेछ।
सन् २००४ मा रानी सिरिकितीको ६० औं जन्मोत्सवका बेला बनाइएको यो अनौठो 'रानीपोखरी' को बगैंचापारि 'रानी सुरिकिती सम्मेलन केन्द्र' नामक विशाल सम्मेलन केन्द्र रहेछ।
हेर्दाहेर्दै बैंकक सहरले गरेको प्रगति देखेर गजब लाग्यो। थोरै इर्श्या जाग्यो, अनि दुःख पनि।
आफ्नो देशको राजधानीमा चिनियाँले बनाइदिएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र चन्द्र शमशेरले सन् १९०८ मा नै बनाएको भव्य सिंहदरबार जलाइएका दृश्य अझै पनि आँखामा झलझली नाचिरहेका छन्, कुनै भयंकर तथा कहालीलाग्ने सपना जसरी।
अफसोच लाग्छ! त्यो खराब सपना होइन। नेपाल र नेपालीको यथार्थ हो। यता बिमस्टेक सदस्य राष्ट्र थाइल्यान्डको राजधानीमा धेरै गगनचुम्बी भवन, चौडा सडक, स्काइरेल, मेट्रोरेल, मल तथा पार्कहरूको विकास भएको देखेर कस्तो कस्तो लाग्यो।
अनायासै याद आयो — यही सहरमा नेपालमा जेनजी आन्दोलनद्वारा सत्ताच्युत गरिएका पूर्वप्रधानमन्त्री केपी ओली केही समयअघि मात्रै आएका थिए। गत चैतको अन्तिम साता उनले यो झन् झन् भव्य देखिँदै गरेको सहरको कुनै पाँच तारे होटलको झ्यालबाट देखिएका दृश्य समेटिएका फोटा सञ्जालमा हालेका थिए। यही सहरबाट उनले आफू बिमस्टेकको सम्मेलनमा भाग लिन आएको जानकारी दिएका थिए।
बिमस्टेक बंगालको खाडीवारि र पारिका सात देश (बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड) बीच व्यापार लगानी र सम्पर्क र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग बढाउने उद्देश्यले सन् १९९७ मा खोलिएको साझा मञ्च हो। गत अप्रिल ४ मा भएको बिमस्टेकको छैटौं सम्मेलनमा थाई प्रधानमन्त्री पेटोङटान चिनावतले सन् २०३० सम्ममा समृद्ध, लचिलो र खुला बिमस्टेक क्षेत्र बनाउने प्रस्ताव अघि सारेकी थिइन्।
डिजिटल प्रविधि र एआई (कृत्रिम बौद्धिकता) समेतलाई केन्द्रमा राखेर अघि बढाइने भनिएका ती योजना सातै देशका सरकार प्रमुखले स्वागत गरेका थिए।
तर त्यसपछि छाओ फ्राया नदीमा धेरै पानी बगिसकेको छ।
प्रधानमन्त्री पेटोङटान चिनावत सरकारबाट बिदा भइसकेकी छिन्। नेपालका केपी ओलीले घुँडा टेकेको केही साताअघि मात्रै हो उनलाई थाई संवैधानिक अदालतले पदत्याग गर्न बाध्य तुल्याएको।
पेटोङटान चिनावतको कसुर — उनले थाइल्यान्डको दक्षिणपूर्वी छिमेकी देश क्याम्बोडियाका शक्तिशाली नेता हुन सेनलाई 'काका' भन्दै बोलाउँदै दुई देशबीचको सीमा विवाद र सैन्य तनाव हल गर्नेबारे गरिएको टेलिफोन कुराकानी गरेको अडिओ टेप सार्वजनिक हुनु।
यसको श्रेय उनले 'काका' भन्दै पुकारेका क्याम्बोडियाली राजनीतिज्ञ हुन सेनलाई नै जान्छ जसले आफ्नो आन्तरिक राजनीतिक फाइदाका लागि त्यो अडिओ कुराकानी बाहिर ल्याइदिए।
फसादमा र प्रतिपक्षीको आलोचनाको सिकार बन्न पुगिन् ३९ वर्षीया पेटोङटान चिनावत। उनी थाइल्यान्डका चर्चित व्यापारी, राजनीतिज्ञ हुँदै प्रधानमन्त्री बन्न पुगेका थाक्सिनकी छोरी र थाई इतिहासकै कान्छी प्रधानमन्त्री हुन्।
सन् २००१ देखि थाई राजनीतिमा जम्न थालेका पूर्वधनाढ्य थाक्सिन एकपछि अर्को भ्रष्टाचार मुद्दामा फसेर दुबई पलायन भएपछि उनकी बहिनी यिनलक प्रधानमन्त्री चुनिएकी थिइन्। तर आन्तरिक राजनीतिक खिचातानीबीच उनी पनि टिक्न सकिनन्।
सन् २०२३ मा भएको चुनावपछि 'मुभ फरवार्ड' नामक नयाँ पार्टी अगाडि आयो तर सरकार बनाउन थाक्सिनकै 'फिउ थाई पार्टी' सफल भयो। त्यो पनि टिक्न भने सकेन। पेटोङटान पदमुक्त भएपछि तीन वर्षमै थाइल्यान्डमा तेस्रो सरकार बन्ने अवस्था आयो।
थाक्सिन देश फर्किएपछि उनले भ्रष्टाचार र राजद्रोहको मुद्दा खेप्नुपर्यो। उनी अहिले कैदमा छन् र कैदमुक्तिका लागि राजासँग याचना गर्न व्यस्त छन्।
अर्थतन्त्र धेरै राम्रो छैन भनिन्छ तर थाई मुद्रा 'भाट' बलियो भएको छ। अर्थतन्त्र धेरै सन्तोषजनक नभएपछि सरकार अहिले विभिन्न कदम चाल्न बाध्य भएको छ। थाइल्यान्डमा झनै धेरै पर्यटक भित्र्याउन निःशुल्क आन्तरिक उडानको प्रस्ताव राख्ने तथा अर्थतन्त्र उकास्न जनताका लागि थप सहुलियत दिने काम नयाँ सरकारले चालेका केही कदम हुन्।
नेपालमा हालैको भयंकर आगजनी, लुटपाट र तोडफोडका दृश्य हेरेर थाइल्यान्ड पुग्ने 'गुच्चाटोल वा मंगलबजार' वासी वा मजस्तो मूलपानीवासीलाई भने थाइल्यान्डको अवस्था अत्यन्त सामान्य लाग्ने नै भयो। यहाँको अमनचयन नेपालीलाई धेरै सहज वा अझ भनौं लोभलाग्दो हुने नै भयो।
तर फोटोग्राफर नाइन कुनै दिन नेपाल आएर लुम्बिनी, काठमाडौं र हिमाली क्षेत्रमा फोटा खिच्ने योजना बनाइरहेका छन्।
अरू थुप्रै थाई तथा यहाँ प्रवासिएका बर्मेली–गोर्खालीको पनि यस्तो शुभेच्छा छ — नेपालमा छिटो चुनाव होस्। शान्ति छाओस्। र, छरछिमेकका भारत चीन र थाइल्यान्डले जस्तै नेपालले लगातार फड्को मारिरहोस्। अघि बढिरहोस्।
मैले वर्षौंदेखि विदेशमा रहेका मित्रहरूबाट सुनेको शुभेच्छा यस्तो हो — नेपालले निरन्तर प्रगति गरिरहोस् र उचाइ छोइरहोस्।
त्यसो गर्ने अवसर यही होला सायद!
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्। )
एक्सः @surendraphuyal