वीरगन्जको भानुचोकस्थित होटल शाह पाराडाइजमा मृत भेटिएका दुई जना भारतीय नागरिकको शव पोस्टमर्टमका लागि अस्पताल पठाइएको छ।
रातभर शव रहेको कोठामा कुरेर बसेको प्रहरीले बुधबार कोठा फोरेर पोस्टमर्टमको प्रक्रिया थालेको हो।
होटलको कोठाबाट शव निकालेर पोस्टमर्टमका लागि नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
असोज १९ गतेदेखि सो होटलमा बस्दै आएका भारतको, पश्चिम भुवनेश्वर बस्ने ६७ वर्षीय सजल अचार्जी र २४ वर्षीय सागर अचार्जी मंगलबार मृत भेटिएका थिए।
होटलमा पेस गरिएको विवरण अनुसार उनीहरू बाबुछोरा हुन्। सजलको शव खाटमा उत्तानो परेको र सागरको शव झुण्डिएको अवस्थामा थियो।
परिवारको प्रतिनिधि कुरेर बसेको प्रहरीलाई वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले अनुसन्धान प्रक्रिया अघि बढाउन 'कन्सेन्ट' दिएपछि शव पोस्टमर्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
भारतीय नागरिक मृत अवस्थामा भेटिएलगत्तै प्रहरीले भारतीय महावाणिज्य दूतावासलाई जानकारी गराएको थियो। दूतावास 'माथिको आदेश' कुरेर बसेको थियो। भारतीय दूतावासमार्फत मृतकका परिवारलाई खबर गर्ने प्रक्रिया अघि बढेको स्रोतले जनाएको छ।
मृतकका आफन्त आइनपुगे पनि स्थानीय जनप्रतिनिधि, पोस्टमर्टममा संलग्न चिकित्सक र होटलका प्रतिनिधिको रोहबरमा शव निकालिएको थियो।
मृतकहरू विदेशी नागरिक भएकाले र उनीहरूको मान्छे आउन समय लाग्ने भएकाले आवश्यक प्रक्रिया पूरा गरी घटनास्थलबाट शव निकालिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले पोस्टमर्टमका लागि पनि मृतकका आफन्त कुर्ने बताए।
'पोस्टमर्टम गर्न पीडितका मानिसहरू आउँछन् कि भनेर दुई–चार दिन पर्खिन्छौं,' उनले भने।
मृतकका आफन्तबाट नै जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाउने सोचमा प्रहरी छ।
छोरा झुण्डिएको र बुवाको घाँटीमा डामजस्तो देखिएकोले प्रहरीले बुबाको हत्यापछि छोराले आत्महत्या गरेको आशंका गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले पोस्टमर्टम रिपोर्ट आएपछि दुवैको मृत्युको यकिन कारण भन्न सकिने बताए।
'घटनास्थल हेर्दा छोरा र बाबुको बीचमा केही परेर, छोराले बाबुलाई सिध्याएर आफू झुण्डिएको हो कि जस्तो देखिन्छ,' एसपी पाठकले भने, 'तर पोस्टमर्टम रिपोर्ट नआउँदासम्म ठ्याक्कै यही हो भन्न सकिँदैन।'
होटलका अनुसार अचार्जी बाबुछोरा असोज १९ गतेदेखि होटलमा बसिरहेका थिए। उनीहरू काठमाडौंबाट आएका थिए र कलकत्ता जाने तयारीमा थिए। सोमबार दिउँसो कोठामै खाना मगाएर खाएका उनीहरूले त्यसपछि खाना मगाएका थिएनन्।
मंगलबार कोठाबाट ननिस्केपछि होटल प्रशासनले उनीहरूको खोजी सुरू गरेको थियो।
भित्रबाट चुकुल लगाएको भए पनि बोलाउँदा नबोलेपछि भेन्टिलेसनबाट हेर्दा एक जना झुण्डिएको र एक जना खाटमा सुतेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले रातभर घटनास्थल कुरेर बिहानदेखि थप अनुसन्धान प्रक्रिया अघि बढाएको हो।