प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीबारे बुधबार साँझसम्म केही नयाँ जानकारी नआएको इसराइलस्थित नेपाली दूतावासले बताएको छ।
इसराइलका लागि नेपालका राजदूत प्रा. डा. धनप्रसाद पण्डितले सेतोपाटीसँग कुरा गर्दै अहिलेसम्म कुनै जानकारी नआएको बताए। केही नयाँ सूचना भए दूतावासलाई पहिलो जानकारी आउने इसराइली सरकारले भनेको पनि उनले बताएका छन्।
'विपिन जोशीको अवस्थाबारे अहिलेसम्म हामीलाई केही जानकारी छैन। इसराइली प्रधानमन्त्रीका सल्लाहकारले विपिनबारे नयाँ कुरा आउनासाथ तपाईंलाई जानकारी दिन्छु भनेका छन्,' राजदूत पण्डितले भने, 'मलाई र दूतावासलाई अहिलेसम्म केही जानकारी आएको छैन। यहाँको खबर यत्ति हो।'
नेपालका केही मिडियामा विपिनबारे आइरहेका पछिल्ला जानकारीहरूबारे 'उतै सोध्न' उनले भनेका छन्।
'अब नेपालका मिडियामा आएका कुराबारे तपाईंहरू उतै बुझ्नुस्,' उनले भने, 'यहाँ हाम्रो चाहिँ नेपालका मिडियामा आएका भ्रामक कुरा सुनेर कान पाकिसके।'
सुदूरपश्चिम विश्वविद्यालयको 'लर्न एन्ड अर्न' कार्यक्रम अन्तर्गत इसराइल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी २०८० असोज २० मा हमासको आक्रमणमा परेका थिए। आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।
विपिनको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी असोज ९ मा अमेरिका गएका छन्। उनीहरू इसराइल नै पुगेर विपिनको रिहाइका लागि पहल गर्न त्यहाँको सरकारलाई आग्रह गरेर फर्केपछि अमेरिका गएका हुन्।
इसराइल सरकारले नै आमा पदमा र बहिनी पुष्पालाई त्यता लगेको थियो।
असोज पहिलो साता हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको 'बिदाइ तस्बिर' भन्दै सार्वजनिक गरेको थियो।
केही दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास सबै बन्धकलाई छाड्न तयार रहेको बताएका थिए।