यसपटकको मनसुनी विपद्बाट सबैभन्दा धेरै सताइएको पूर्वी पहाडी जिल्ला इलाम बिस्तारै लयमा फर्कने प्रयासमा छ।
विपद्मा परी ३९ जनाको ज्यान गयो भने २६ जना घाइते भए। अर्कातर्फ एक जना बेपत्ता भइरहेको इलाममा यसपटक जुन अनुपातमा मानवीय क्षति भयो, भौतिक क्षति पनि उत्तिकै।
असोज १८ गते राति भीषण बाढीपहिरोको चपेटामा परेको इलाममा अहिले तीन तहकै सरकार, सर्वसाधारण, विभिन्न सहयोगी संघसंस्थाहरू मिलेर बाटोको अवरोध हटाउने, राहत तथा पुनःस्थापनाका काम गरिरहेका छन्।
यही क्रममा बाढी र पहिरोले मेची राजमार्गसहित दर्जनौं सडकहरू अवरूद्ध हुन पुगेको इलाममा बुधबार साँझबाट मेची राजमार्गको इलाम–फिदिम खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाका अनुसार इलाम सदरमुकामबाट पाँचथर सदरमुकाम फिदिम जोड्ने मेची राजमार्गको सडक खण्ड सुरू भएको छ।
‘आजदेखि नै एकतर्फी बाटो खुलेको छ,’ कोइरालाले भने, ‘यो बाटो साना भारबहन भएका गाडीहरूका लागि मात्र हो, ठूला गाडीलाई होइन।’
इलाम सदरमुकामदेखि दक्षिण माइखोला पुलसम्मको बाटोमा ठूलो पहिरोका कारण अहिले पनि समस्या छ। यो खण्डको डेढ किलोमिटर खण्ड अझै अवरूद्ध छ।
‘सडक विभागका इन्जिनियरहरूको अनुमानमा यहाँको पहिरो हटाउन अझै करिब एक हप्ता लाग्न सक्छ,’ एसपी कोइरालाले भने, ‘यो सामान्य पहिरो नभई दिनको करिब एक मिटरको दरले पहाड दबिरहेको अवस्था छ। सडकको भाग पूरै बिग्रिएकोले जटिल अवस्था छ।’
इलाम सदरमुकामबाट माइखोला पुलपारी गोदकदेखि झापाको चारालीसम्मको बाटो भने ४–५ दिनअघिदेखि नै राम्रोसँग चलिरहेको छ।
-1759930425.jpg)
इलामका सडक डिभिजन प्रमुख पवन भट्टराईका अनुसार मेची राजमार्ग अन्तर्गत इलाम खण्डमा रहेका राजदुवाली र मिलगोलाईको डेढ–डेढ किलोमिटर क्षेत्र अहिले मुख्य अवरोधको केन्द्र बनेको छ।
झापाको सीमा जोरकलशदेखि राजदूवालीसम्म र राजदूवालीभन्दा केही माथिबाट इलाम बजारतिर गाडी चलिरहेका छन्। राजदूवालीको पहिरो हटाउन केही साता लाग्ने देखिएको छ।
भट्टराईका अनुसार पहिरो बगिरहेको र काम गर्दै हेर्दै गर्नुपर्ने जटिल अवस्था रहेकाले कहिलेसम्म खुल्छ भन्ने यकिन छैन।
सडक विभागले पुल विज्ञ नरेश केसरीको निरीक्षणपछि राजदूवाली पुलमा तत्काल ठूलो समस्या नरहेको र त्यसैलाई सञ्चालन गर्न सकिने सुझाव आएको जनाएको छ।
सुरक्षाकर्मीले राजदूवाली पुलछेउमा सहायता कक्ष राखेर यात्रुलाई सहयोग गरिरहेका छन्।
त्यस्तै, राजदूवालीभन्दा माथि पुवाखोलादेखि मिलगोलाईसम्मको एकदेखि डेढ किलोमिटर बाटो खुलाउन बाँकी छ, जहाँ राजमार्ग नै बगाएर लगेको छ।
-1759930424.jpg)
डिभिजन प्रमुख भट्टराईले बिहीबार साँझसम्ममा साना गाडी पास गराउने लक्ष्य राखिएको बताएका छन्।
मिलगोलाईमा सडक निस्कने ठाउँमा घर रहेकाले ठूला गाडी पास गराउने बाटो निकाल्न घर हटाउनेबारे अन्योलता छ।
'पुवाखोला लगिएको अर्को ठूलो मेसिनले बञ्चरे गोलाईमा बाटो खुलाउने प्रयास जारी छ,' उनले भने, 'त्यहाँ लेदो बगिरहेकाले र चट्टान फोर्न ब्रेकरको उपलब्धता नहुँदा केही समस्या भए पनि बिहीबार साँझसम्ममा साना गाडी पास गराउने लक्ष्य राखेका छौं।'
राजमार्ग अवरूद्ध भएपछि दसैंमा यात्रा गर्ने यात्रुले डेढ किलोमिटर जति पैदल हिँड्नुपर्ने बाध्यता छ। साथै, एउटै यात्रा पूरा गर्न धेरै पटक गाडी परिवर्तन गर्नुपर्दा सर्वसाधारणले सास्ती भोगेका छन्।
सूर्योदय नगरपालिकाले फिक्कलतिरबाट राजदूवालीसम्म र इलाम नगरपालिकाले राजदूवाली छेउसम्मका लागि निःशुल्क सवारी साधनको व्यवस्था गरेको छ। केही व्यवसायी र समाजसेवीले पनि निःशुल्क सेवा दिइरहेका छन्।
भौतिक क्षतिको विवरण र पुलहरूको क्षति
मेची राजमार्ग अवरूद्ध हुँदा झापा, पाँचथर र ताप्लेजुङ जोड्ने यो मुख्य मार्गबाट खाद्यान्न र उपभोग्य सामग्री ढुवानीमा समस्या भएको इलामका व्यवसायी राजभाइ श्रेष्ठले बताए।
इलामका धेरै सहायक मार्गहरू पनि क्षतिग्रसत बनेका छन्। नेपालटार–मंगलबारे र इलाम–सन्दकपुर पालिका कार्यालयसम्म जाने बाटोहरूमा स्थानीय पालिकाको समन्वयमा एकतर्फी सडक खुला भएको छ।
माइजोगमाई, फाकफोकथुम, माङसेबुङ जस्ता गाउँपालिकाहरू जाने बाटोमा भने पुलहरू नै भत्किएकाले बाटो अहिले पनि अवरद्ध नै छ।
इलाममा पुलहरूमा पनि क्षति धेरै भएको छ। पुवाखोलामा केही महिनाअघि उद्घाटन गरिएको बेली ब्रिज बाढीले बगाएको छ।
माइखोलामा रहेको बेलासे पक्की पुल बीचैमा भाँच्चिएको छ।
वैकल्पिक मार्गको गोदक सिमल गोलाईदेखि तिल्केनी सडकको जोगमाई खोलामा जडान गरिएको बेली-ब्रिज पनि बाढीले बगाएको छ।
जिल्लामा आधा दर्जनभन्दा बढी ग्रामीण पुल बगेकाले स्थानीयबासीलाई एक गाउँबाट अर्को गाउँ र सदरमुकामसम्म आउजाउ गर्न समस्या भएको छ।
इलाममा सडकमा समस्या आएपछि बिरामीहरूको हेलिकप्टरबाट उद्दार भइरहेको छ।
नेपाली सेनाको हेलिकप्टरले बुधबार पनि माइजोगमाई–६ प्याङबाट एक गर्भवती महिला र निमोनियाका एक बिरामीलाई उद्धार गरी झापा लगेको छ।
-1759930425.jpg)
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माङ्सेबुङ गाउँपालिकालगायत क्षेत्रमा हेलिकप्टरबाट राहत वितरण गरेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन जिल्ला प्रशासनको अनुमति र सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ। राहत वितरणमा विभिन्न संघसंस्थाहरू पनि खटिएका छन्।
करिब ७० घरपरिवार विस्थापित भएको अनुमान गरिए पनि पशुचौपाया र अन्य विवरण संकलनमा ढिलाइ हुँदा राहत वितरणमा असजिलो भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्।
१८ गतेदेखि अवरूद्ध बिजुली क्रमशः चालु हुँदैछ। सदरमुकाम इलाम बजारमा मंगलबार साँझदेखि बिजुली बलेको छ भने गाउँहरूमा पनि मर्मतको काम तीव्र गतिमा भइरहेको नेपाल विद्युत् प्राधिकरण, इलाम वितरण केन्द्रले जनाएको छ।