कोशी प्रदेशमा रहेका चार जना गर्भवती महिलाको नेपाली सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोमबार कोशी प्रदेशबाट चार जना गर्भवती महिलाको उद्धार गरिएको हो।
उद्धार गरी उपचारका लागि झापाको बिएन्डसी अस्पताल र कोशी प्रादेशिक अस्पताल विराटनगरमा पठाइएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूको लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत सेनाले उद्धार गरेको हो।
इलामको माइजोगमाई-५ सिरसिरेबाट विद्या राई र सन्दकपुर-१ छाँगेबाट कमलादेवी राईको उद्धार भएको हो।
पाँचथरको फिदिम नगरपालिका-१२ पुल भञ्ज्याङबाट लिम्सा लिम्बू र संखुवासभाको भोटखोला गाउँपालिका-३ हुङगुङबाट छिटेक भोटेको उद्धार भएको हो।
नेपाली सेनाले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्दै आएको छ।