साल २०७९। कात्तिक अन्तिम साता। संसदीय निर्वाचनको बढ्दो रापतापले भ्याइनभ्याइ थियो।
त्यही बीच डा. सन्जु खड्काले मलाई मेरा केही साथीसहित सुटुक्क आफ्नो निर्माणाधीन घर घुमाउन लगिन्।
'यो भान्छाघर, अब यहीँ बसेर खानुपर्छ,' मूलगेटको मुखैमा रहेको कोठा चिनाउँदै उनले भनिन्।
सन्जुले यसो भन्दै गर्दा उनका श्रीमान डा. डम्बर मन्द मुस्कुराए।
अनि भने, 'कलेन्द्रजी अब जे जे मन लाग्छ, मजाले खानुपर्छ है!'
त्यसपछि सन्जुले उत्तर–पश्चिम कुनामा रहेको स्विमिङ पुलतर्फ लगिन्। उज्यालो चेहरा र फरासिलो स्वभावकी धनी सन्जु पानी नभरिएको पोखरीको डिलमा निकै कन्चन देखिन्थिन्।
'स्विमिङ गर्नुपर्छ है कलेन्द्रजी!' सन्जुको स्नेहमा डा. डम्बर मिसिए, 'नानीबाबुलाई पनि ल्याए भइगो नि स्विमिङ गर्न।'
उति बेला अविवाहित रहेको साथी सुशील शर्मासँग मैले जिस्किँदै भनेँ, 'लौ है!'
करिब चार कट्ठामा फैलिएको 'डा. डम्बर–सन्जु खड्का निवास' उति बेला निर्माणकै चरणमा थियो।
तर सन्जुको परिकल्पना र बनावटको वर्णन सुन्दा लाग्थ्यो — यो उनको जीवनको भीमकाय सपना–संग्रह हो।

सन्जुले हामीलाई उत्तरतर्फ करिब बीचमा रहेको आवासगृहमा लगिन्। दुईतले भवनमा तीन वटा कोठा तयार हुँदै थिए।
'यो ठूलो छोराको कोठा,' उनले भुइँतलाको कोठा देखाएपछि सरासर पहिलो तलामा उक्लियौं।
अब कोठा चिनाउने पालो डा. डम्बरको।
'यो हामी बुढाबुढीको,' उनले दक्षिण–पूर्वतर्फको कोठा देखाउँदै भने।
त्यसपछि सिधै पश्चिमतर्फको कोठातर्फ लगे, 'यो चाहिँ कान्छो बाबुको, ऊ सानै भएकाले नजिकै कोठामा राख्न खोजेको।'
जाजरकोटका पत्थर बिच्छ्याइने फराकिलो कम्पाउन्ड, फूलबारी र वृक्षरोपणको परिकल्पना सुन्दा हाम्रो मन मोहित भयो।
साँच्चै यो घर कहिले तयार होला, सन्जुले कहिले बोलाऊलिन् — मनभित्र एकाएक व्यग्रता बढ्यो।
डा. डम्बर कर्णालीका ख्यातिप्राप्त चिकित्सक हुन्। चिकित्सा सेवाबाटै जनताको हृदयमा बस्न सफल छन्। पछिल्लो समय कर्णाली प्रदेश अस्पताललाई देशकै नमूना अस्पताल बनाएर वाहवाही कमाए।
डा. सन्जुले २०६०–६२ सालतिर छोटो समयमै 'मेरीस्टोप्स' को सुर्खेत कार्यालयमा रहेर कर्णाली क्षेत्रको प्रजनन् स्वास्थ्यमा उल्लेखनीय योगदान गरिन्। त्यसपछि छोराहरूको पालनपोषण र शिक्षाका लागि काठमाडौं बसाइ सरिन्।
दुवै छोरा हुर्केपछि डाक्टर दम्पतीको योजना बन्यो, निवृत्त जीवन सुर्खेतमै समाजसेवा गरेर बिताउने।
त्यही योजनाको जगमा निर्माण भएको थियो 'डा. डम्बर–सन्जु खड्का निवास।'
सन्जु सुर्खेत फर्केपछि सामाजिक सेवामा सक्रिय भइन्। समुदायमा रहेको 'श्रीकृष्ण साधारण तथा संस्कृत मावि' को विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनिन्। महिला, बालबालिका र युवाका सवालमा उनले छोटो समयमा प्रखर अभियानीको पहिचान बनाइन्।
विडम्बना...!
नयाँ घर सरेको एक महिनामै, २०८० जेठ १७ गते कार दुर्घटनामा डा. सन्जुको निधन भयो।
उनले देखेका सुन्दर सपना र बुनेका योजनाहरू त्यही घरभित्रै थन्किए।
अनि म र मजस्ता थुप्रैलाई आतिथ्य प्रदान गर्ने उनको धोको अधूरै रह्यो।
सन्जुको विछोडबाट एक्लिएको 'डा. डम्बर–सन्जु खड्का निवास' माथि यही भदौ २४ गते अर्को बज्र प्रहार भयो।

जेन–जी आन्दोलनको आडमा अराजक जत्थाले नियोजित रूपमा निवासमा आगजनी गर्यो। पार्क गरिएका दुइटा गाडी जलाइए। घरभित्र भएको नगद, गरगहना, फर्निचर, सोफा, लत्ताकपडा सबै लुटिए। पश्चिमतर्फ रहेको पुर्ख्यौली घर पनि आगजनी गरियो।
घटनाका बेला डम्बर कैलाश–मानसरोवर यात्रा क्रममा तिब्बतको ल्हासामा थिए। फर्केलगत्तै उनले पुनर्निर्माणको काम सुरू गरेका छन्। सन्जुको सम्झना र सम्मानका लागि पनि उनी घर दुरूस्तै बनाउन चाहन्छन्।
'घरको डिजाइन र सजावट सन्जुकै परिकल्पनामा भएको हो। झन्डै साढे एक वर्ष लगाएर बनेको घरमा करिब दुई करोड रूपैयाँ खर्च भएको थियो। त्यसमध्ये एक करोड रूपैयाँ बैंकबाट ऋण लिएको हो,' डम्बरले सुनाए।
अब पुनर्निर्माणमा कम्तीमा ५० लाख रूपैयाँ खर्च हुने अनुमान छ। पुर्ख्यौली जग्गा बेचेरै भए पनि घर बनाउने उनको अठोट छ।
चिकित्सा सेवामार्फत् जनताको सेवामा खटिइरहेका डा. डम्बर अहिले सोचिरहन्छन्, 'किन जलाइयो मेरो घर?'
यही प्रश्नको सेरोफेरोमा आफ्नो जीवन, समाजको मनोविज्ञान र मुलुकको भविष्यप्रति उनी सोचमग्न छन्।
डम्बर कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका भाइ हुन्। प्रायः मान्छेले घर जलाइनुमा यही कारण भएको आशंका गर्छन्। यसले डम्बरलाई थप पीडाबोध गर्छ।
किनभने, भाइ भएकैले उनको घर जलाउनुको अर्थ हुन्छ — दाइको पैसाले घर बनाइएको हो!
सुर्खेत–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्णबहादुर आफै सादगी र निष्कलंकित राजनीतिक संस्कार भएका राजनीतिज्ञका रूपमा चिनिन्छन्। उनी २०४८ देखि हालसम्म निरन्तर सात पटक जनताको अभिमतसहित सांसद र झन्डै त्यति नै पटक मन्त्री भए। उपप्रधानमन्त्रीसहित रक्षा, गृह, सञ्चार, युवा तथा खेलकुद, उद्योग वाणिज्यजस्ता महत्वपूर्ण मन्त्रालयको बागडोर सम्हाले।
अरू नेताहरूले काठमाडौंमा घर–घडेरी जोड्दै गर्दा उनी २०७० सालसम्म डेरामै बस्थे। घरभाडा समेत सुर्खेतमा व्यापार–व्यवसाय गर्ने उनका साइँला भाइ विष्णुले पठाउँथे।
घरधनीको पारिवारिक कारणले बसिरहेको घर छोड्नुपर्ने भएपछि पूर्णबहादुर नयाँ घरको खोजीमा लागे। त्यही बेला भाइबुहारी सन्जुले माइतीको सहयोगमा गल्फुटारमा बनाएको आफ्नो घरमा बस्न आग्रह गरिन्।
पूर्णबहादुरले स्वीकार गरे र बसे।
यही प्रंसगमा एक दिन सन्जुले मलाई भनेकी थिइन्, 'मन्त्री भइसकेको मान्छे, पार्टीको नेता पनि। मान्छेहरू भेट्न आइरहन्छन्। गाडी पार्क गर्ने ठाउँ पनि छैन। मैले कति पटक मेरो घरमा बस्नुहोस् भन्दा पनि मान्नुभएन। आखिरमा घरबेटीका घर कारण छोड्नुपर्ने भएपछि मेरो आग्रह स्वीकार गर्नुभयो।'
अर्को विडम्बना...!
सन्जुले उदार दिलले जेठाजुलाई बस्न दिएको त्यही घर पनि जेनजी आन्दोलनमा आगजनी गरियो।

जेनजी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनमा जोडदार उठेको अर्को मुद्दा हो– पोलिटिकल नेपो बेबी ट्रेन्ड।
पूर्णबहादुरको कुरा गर्दा, उनका एक मात्र छोरा सुर्खेतमै बस्छन्। साइँला बुबा विष्णुको व्यवसायमा सहयोग गर्छन्।
राजनीतिज्ञ दाजुको निष्ठा सम्झेर खण्डहर घरभित्र डा. डम्बरको अनुहारमा आक्रोशको ज्वाला बलिरहेको थियो।
उनी भन्दै थिए, 'पूर्णबहादुर खड्काले अहिलेसम्म एक रूपैयाँ कसैबाट घुस लिएको वा भ्रष्टाचार गरेको रहेछ भने प्रमाणित गरोस्। प्रमाणित भए यो घर जलाएकोमा पनि चित्त बुझाऊँला। नत्र किन यो ताण्डव र आतंक?'
२०३९ मंसिरमा वीर अस्पतालको मानसिक वार्डमा अस्थायी सेवाको अहेवबाट सरकारी सेवा सुरू गरेका डम्बर साँझपख र रात्री सत्रको ड्युटी गर्थे। बिहान अमृत साइन्स क्याम्पस पढ्थे।
२०४० सालमा स्थायी भएपछि उनी पोखराको सर्दिखोला हेल्थपोस्ट र २०४५ साल कालिकोटको राँचुली हेल्थपोस्ट गए। मेहनेती र लगनशील उनले २०४८ सालमा तत्कालीन सोभियस संघ (रूस) मा एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरे।
उनका अनुसार यसमा उनका दाजु पूर्णबहादुरको प्रेरणाले काम गरे पनि 'पावर' र पहुँच प्रयोग भएन।
रूसमा सात वर्ष लामो अध्ययनपछि उनी नेपाल फर्के। २०५५ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काम थाले। तर उनको मन काठमाडौंमा अडिएन।
२०५६ सालमा उनी सुर्खेत अस्पताल फर्किए। गत वर्ष कात्तिकमा ४२ वर्ष लामो सरकारी सेवाबाट निवृत्त भएका उनी पछिल्लो ८ वर्ष प्रदेश अस्पताल (तत्कालीन क्षेत्रीय अस्पताल समेत) को नेतृत्वमा रहे। निष्कलंकित त्यहाँबाट बिदा भए।
यस अवधिमा उनले नाम मात्रको अस्पताललाई देशकै नमूना अस्पताल बनाए। भौतिक स्रोतसाधन तथा दक्ष जनशक्तिको व्यवस्था र विशेषज्ञ सेवा प्रवाहले कर्णालीवासीको भरोसाको केन्द्र बन्न पुगको छ।
डम्बर अस्पताल प्रमुख हुँदा आर्थिक मामिलामा सचेत र अनुशासित थिए।
गत शुक्रबार कुराकानी क्रममा उनले भने, 'मैले अस्पतालमा भ्रष्टाचार गरेको भए पनि ल ठीकै छ भनेर चित्त बुझाइन्थ्यो, त्यो पनि छैन।'

बरू साँझ–बिहान क्लिनिकमा काम गर्ने गरेकामा अस्पताल प्रमुख भएपछि आर्थिक हिसाबले घाटा सहनुपरेको उनले सुनाए।
वास्तवमा यो घर डम्बर र सन्जुको पसिना र सपनाको सुन्दर शिल्प थियो।
सन्जु आफ्नो हृदयजस्तै घरको ढोका पनि सधैं खुला गर्न चाहन्थिन्।
डाइनिङ हल र स्विमिङ पुल मात्र होइन, घरको फराकिलो आँगनमा पनि उनी आगन्तुकलाई बोलाउन चाहन्थिन्। आँगनमै धार्मिक तथा सामाजिक कार्य गर्न उनले कम्पाउन्डबाहिर चार वटा माइक जडान गरेकी थिइन्।
डम्बर भौतिक तथा आर्थिक रूपमा भएको क्षतिभन्दा बढी दिवंगत जीवनसंगिनीको सपनामाथि भएको बज्रले आहत छन्।
६ वटा सुटकेसमा सन्जुका कपडा र सामान राखिएका थिए। ती कसैलाई दान गर्ने डम्बरको सोच थियो। ती पनि लुटेर लगे।
शोकका बेला शुभचिन्तकले दिएका श्रद्धाञ्जली र समवेदनाका फ्रेम पनि जलाइए।
'म अहिले पनि मेरो घर किन जलाइयो भन्ने प्रश्नको जबाफ खोजिरहेको छु,' डम्बरले भने, 'समाजको दूषित मनोविज्ञान र प्रतिशोधको भावनाले जेनजीका सपना पूरा होलान् त?'
नेता भन्ने बित्तिकै, ठूलो र राम्रो घर देख्ने बित्तिकै, चिल्ला गाडी चढ्ने बित्तिकै भ्रष्टाचारी कहलिनुपर्ने? जीवनभर निष्ठाको राजनीति गरेका, समाजको लागि आफ्नो जीवन समर्पण गरेका व्यक्तिहरू समाजको दोषी चस्माको सिकार हुनुलाई उनी विडम्बना ठान्छन्।
ठीक तीन वर्षअघि डम्बरले सन्जुसँग टहलिँदै हामीलाई निर्माणाधीन घर चिनाएका थिए।
अहिले त्यो घरको चेहरा उडेको छ। खण्डहर घरभित्र डम्बर नितान्त एक्ला थिए।
'यो घर सन्जुको सपना हो, अब यसलाई सम्हाल्नु छ,' डा. डम्बरले लामो सुस्केरा हाल्दै भने।

