वीरगञ्जमा एक वृद्ध मृत फेला परेका छन्।
गहवामाई मन्दिर छेउको सडकपेटीमा आइतबार एक जना वृद्ध पुरूष मृत फेला परेका हुन्।
मन्दिर परिसरमा भिख मागेर बस्दै आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका अन्दाजी ६५ वर्षीय हरिहर प्रसाद सोनार मृत फेला परेका हुन्।
हरिहरको मृत्युको कारण यकिन हुन सकेको छैन। तर शवको प्रकृति हेर्दा अविरल वर्षाका कारण रूझेर बिरामी परेका उनको कठ्यांग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
शव पोष्टमर्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
पोष्टमर्टम रिपोर्ट आएपछि मृत्युको यकिन कारण खुल्ने वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाइँले जानकारीले दिए।