आइतबार पनि साँझ ६ बजेपछि नारायणघाट-मुग्लिन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइने भनिएकोमा समय संशोधन गरेर ९ बजे बनाइएको छ।
जिल्ला प्रहरी कार्यालयले दिउँसो सूचना जारी गरेर चितवन आउने र यहाँबाट काठमाडौं तथा पोखरातर्फ जाने सवारी साधनहरूलाई साँझ ६ बजेभित्र आई/गईसक्न आग्रह गरेको थियो। मौसममा सुधार हुँदै गएकाले समय थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोबिन्द पुरीले जानकारी दिए।
असोज १८ देखि २० गतेसम्मको मौसम पूर्वानुमानलाई ध्यानमा राखेर रातिको समयमा चितवनमा पर्ने राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
चितवन र आसपासका क्षेत्रमा गएरातिदेखि पानी परेको छैन।
सडकमा रोकिएका सवारी साधनहरूलाई प्रशासनले आइतबार दिउँसोदेखि नै गन्तव्यतर्फ पठाइरहेको छ।
राति ९ बजेपछि काठमाडौं, पोखरातर्फ जान आउने गाडीहरूलाई तोकिएका होल्डिङ स्पेसमा राखिने उनले बताए।