असोज १३ गते दसैंको फूलपातीको दिन।
सौराहा घुम्न आएको बेलायतको एउटा परिवारका १७ महिने बालक बिरामी परे। एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उनीहरू बसेको सपना भिलेज रिसोर्टले बालकलाई तुरून्तै भरतपुर पुर्यायो। एउटा निजी अस्पतालले तुरून्तै भर्ना पनि लियो।
तर अस्पतालमा बिरामीलाई सेवा दिनसक्ने जनशक्ति नै थिएन। दसैंको बेलामा स्वास्थ्यकर्मीहरू बिदामा बस्दा अस्पतालले बिरामीलाई स्तरीय सेवा दिन सकेन। विदेशीले आफ्नो नाबालक छोराको उपचारमा भएको कमजोरीको विषयमा अस्पतालका कर्मचारीहरूसँग असन्तुष्टि पोखे। तर कर्मचारीले जबाफै दिएनन्। श्वासप्रश्वासको समस्याका कारण तत्काल जहाजमा चढाएर काठमाडौं लैजान सम्भव भएन।
‘पाहुनाहरू आत्तिएका थिए। हामीले धेरैतिर बुझ्यौं, चाडपर्वको बेला भएकाले सबैतिर जनशक्तिको अभाव देखियो। धन्न चितवन मेडिकल कलेजमा पिआइसियूमा बेड खाली रहेछ। डाक्टर पनि हुनुहुँदो रहेछ,’ सपना भिलेज रिसोर्टका सञ्चालक ध्रुव गिरीले सेतोपाटीसँग भने, ‘हामीले अष्टमीको दिन बच्चालाई मेडिकल कलेज पुर्यायौं। त्यहाँ चिकित्सकहरूले तुरून्तै काम सुरू गर्नुभयो।’
श्वासप्रश्वास सम्बन्धी समस्या (व्रोङ्क्योलाइटिस) भएका बालक शुक्रबार दिउँसो २ बजे डिस्चार्ज भए।
‘बालक अहिले स्वस्थ छन्। बाबुआमासँग खेलिरहेका छन्,’ रिसोर्टका सञ्चालक गिरीले भने, ‘सुरूमा त उनीहरू निकै तनावमा थिए। चितवनमा उपचार गतिलो रहेनछ भनेका थिए। बच्चालाई निको भएपछि खुसी छन्।’
चितवन मेडिकल कलेजका अस्पताल निर्देशक डाक्टर दयाराम लम्सालकाअनुसार अहिले अस्पतालको आकस्मिक कक्षका ६० र १९४ वटा आइसियू शय्याहरू पूरै बिरामीले भरिएका छन्। शुक्रबार अपराह्न यहाँ आकस्मिक कक्षमा मात्रै ८० बढी बिरामीको उपचार भइरहेको थियो। बिरामीको संख्या बढेपछि आकस्मिक कक्षमा शय्या थपेर उपचार गरिएको हो।
‘हरेक वर्ष चाडपर्वको बेलामा यस्तै हुन्छ। अरू समयमा बिरामी भर्ना लिने, चाडपर्व लागेपछि स्वास्थ्यकर्मी, कर्मचारीलाई बिदा दिएर बिरामी रिफर गर्ने चलन बढिरहेको छ,’ डा.लम्सालले भने, ‘क्रिटिकल केयरका बिरामीहरू धेरै रिफर गरिएका छन्। आइसियूका करिब ४० प्रतिशत बिरामी दसैंमा रिफर भएर आएका हुन्।’
यहाँ वयस्क बिरामीका लागि १ सय ५७ शय्याको आइसियू, बालबालिकाको लागि १७ शय्याको पिआइसियू र नवजात शिशुको लागि २० शय्याको एनआइसियू छ।
आकस्मिक कक्षमा देखिएको भीड सामान्य अवस्थामा भन्दा तीन गुणा बढी रहेको लम्सालले बताए।
भएका आइसियूले नपुगेर निर्माणको प्रक्रियामा रहेका थप ७ शय्या आइसियूलाई पूर्णता दिएर सञ्चालन गर्न लागेको उनले बताए।
भरतपुरलाई मेडिकल सिटी भन्ने गरिए पनि चाडपर्वको बेलामा यहाँका धेरैजसो साना अस्पतालहरू बन्दजस्तै हुने गरेको बिरामी लिएर मेडिकल कलेज पुगेका भरतपुर–८ का सरोज पाठकले बताए।
‘दुर्घटनामा परेर दाइ घाइते हुनुभयो। सुरूमा पुर्याएको अस्पतालमा आकस्मिक कक्षमा कर्मचारी नै रहेनछन्। त्यसपछि सोधपुछ गरेर मेडिकल कलेज ल्याइयो,’ उनले भने।
डाक्टर लम्सालले जिल्लाका ठूला भनेर चिनिने अस्पतालबाट पनि विजया दशमीको केही दिनअघिबाट बिरामी रिफर भएर आइरहेको बताए।
केन्द्रीय अस्पताल भनेर चिनिने भरतपुर अस्पतालबाट पनि गम्भीर अवस्थाका बिरामी रिफर भएर चितवन मेडिकल कलेज पुगेका छन्।
‘धेरैजसो बिरामी दीर्घरोगी र दुर्घटनाका छन्। खानपानको समस्याले आउने बिरामी पनि धेरै नै छन्। अरू अस्पतालले सेवा नदिएकै कारण होला हाम्रो अस्पताल अहिले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ,’ निर्देशक डा.लम्साल भन्छन्, ‘हामी सिनियर डाक्टरहरू बिदा नलिई खटेका छौं। हामीले काम गरेको देखेर जुनियर कर्मचारीहरूले पनि मेहनत गर्नुभएको छ।’
अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले विजया दशमीको दिनमा स्वास्थ्यकर्मीहरूलाई अस्पतालमै टीका, जमरा लगाएर उत्प्रेरणा प्रदान गरिएको बताए। बिरामीलाई स्वास्थ्यकर्मीहरूले टीका लगाइदिएका थिए।
‘बिदामा रहेका कर्मचारीलाई पनि बोलाएर सेवा दिइएको छ,’ देवकोटाले भने, ‘जनशक्तिको सक्दो परिचालन गरेर क्राइसिस म्यानेजमेन्ट गरिरहेका छौं।’
पर्यटन व्यवासायी गिरीले नेपाल घुम्न आउने विदेशी पर्यटकहरूले सबै सेवा स्तरीय खोज्ने गरेको बताए।
उनीहरूलाई आकर्षित गर्न उपचार सेवा पनि स्तरीय आवश्यक पर्ने गिरी बताउँछन्।
‘हाम्रै बच्चा बिरामी भइहाले पनि तुरून्तै जहाज चढाएर काठमाडौं लैजान मन लाग्छ। यसो हुनुको कारण यहाँका अस्पतालहरूले दिने सेवा नै हो,’ उनले भने, ‘मान्छेहरू बिरामी बढी हुने नै चाडपर्वको सिजनमा हो। यही बेलामा सेवाको स्तर घट्नु त लापरबाही हो नि।’
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेती अस्पतालहरूले जुनसुकै अवस्थामा पनि आकस्मिक सेवा दिनुपर्ने बताउँछन्।
चाडपर्वमा पनि सेवामा असर नपर्ने गरेर मात्रै कर्मचारीलाई बिदा दिनुपर्ने उनले बताए।
‘अस्पताल अति संवेदनशील क्षेत्र भएकाले अन्य कार्यालय जसरी सार्वजनिक बिदामा सबै कर्मचारीलाई बिदा दिन मिल्दैन। जुनसुकै समयमा बिरामी आउन सक्छन्। त्यो अवस्थामा अस्पतालले सेवा दिनुपर्छ। आकस्मिक कक्षमा त झन् जनशक्ति सहित तयारी अवस्थामा रहिरहनुपर्छ। हामीले यस विषयमा अस्पतालहरूलाई बेला–बेलामा सजग गराइरहेका छौं,’ रूपाखेतीले भने, ‘विशेष अवस्थामा ओपिडीसम्म बन्द गर्न सकिन्छ। ओपिडी पनि सेवा आकस्मिक कक्षबाटै दिने गरि बन्द गर्नुपर्ने हो।’
उनले चाडपर्व, विपद्जस्ता समयमा सरकारी अस्पतालहरूका सेवा अझै प्रभावकारी हुनुपर्ने बताए।